काठमाण्डौ । इन्साइडर ट्रेडिङमा संलग्नताको आरोप खेपे पनि नियामकबाट उन्मुक्ति पाएको जलविद्युत लगानी तथा विकास कम्पनी(एचआइडिसिएल)ले साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ । 

कम्पनीका अधिकारीहरुले आयोजनाहरुमा प्रतिबद्धता गरिएको लगानी जुटाउने उद्देश्यले एफपीओ निश्कासनका लागि आवश्यक पूर्वतयारी भइरहेको बताएका हुन् । 

विभिन्न जलविद्युत आयोजनामा लगानी गर्दै आएको एचआइडिसिएलले पछिल्लो समयको रकम अभावको समस्यालाई टार्न एफपीओ निश्कासन गर्न लागेको बताइएको छ । कम्पनीले प्रिमियम मूल्यमा एफपीओ निश्कासन गर्नेछ । 

कम्पनीका अधिकारीअनुसार हालको चुक्तापूँजी १० अर्बमध्ये साढे ९ अर्ब बढी विभिन्न आयोजनामा लगानीको प्रतिबद्धता भइसकेको छ । प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार साढे ९ अर्बमध्ये साढे २ अर्ब बढी रकम खर्च भइसकेको छ । उनका अनुसार लगानीका लागि कैयन आयोजनाबाट प्रस्ताव आए पनि रकम अभाव भएकोले त्यसलाई टार्न एफपीओ निश्कासन गर्न लागिएको हो । 

एफपीओको प्रिमियम मूल्य र अन्य बिषयमा कम्पनीले केही पनि खुलाइसकेको छैन ।