काठमाण्डौ। कुमारी बैंकको सञ्चालक समितिले १९ करोड रुपैयाँ ऋण प्रकरणमा मुछिएका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र वरिष्ठ सहायक प्रमुख कार्यकारी अधिकृत मनीष तिमिल्सिनालाई बिदाइ गरेको छ।

नक्कली कागजातका आधारमा १९ करोड ऋण प्रवाह भएको विषयमा तिम्सिनाद्वय मुछिएका थिए। सो प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरेको थियो। छानबिनका क्रममा तिम्सिनाद्वयको भूमिकाका विषयमा प्रश्न उठाइएको थियो। 

सीआईबीको छानबिन प्रतिवेदन विशेष सरकारी वकिलको कार्यालयमा पुगेपछि निष्कर्षलाई पन्छाएर तिमिल्सिनाद्वयमाथि कुनै पनि मुद्दा नचल्ने गरी प्रक्रिया अगाडि बढाइएको थियो। विशेष सरकारी वकिललाई विभिन्न प्रलोभनमा मुद्दा नै नचलाउने अवस्था सिर्जना गरिएकोमा सीआईबीका अनुसन्धान अधिकारीहरु असन्तुष्ट थिए। सोही विषयमा सीआईबीका अधिकारीहरुले बैंकका सञ्चालकहरुलाई समेत जानकारी गराएका थिए।

अनुसन्धानमा तिमिल्सिनाद्वयको नेतृत्वदायी कमजोरी देखिएको सो प्रतिवेदनमा उल्लेख छ। सोही विषयलाई आधार मानेर बैंकका केही सञ्चालकहरुले दुवैको बैंकबाट बर्हिगमन चाहेका थिए। 

सञ्चालकहरुको म बलियो बन्दै गएपछि तिमिल्सिनाद्वयलाई काम गर्न अप्ठेरो परेको थियो। सञ्चालकहरुले उनीहरुलाई बैंक छाड्न आग्रह गरेका थिए। तर, तिमिल्सिनाद्वयले सम्मानजनक बर्हिगमनको प्रस्ताव गरेपछि यसमा सञ्चालक समितिमै सहमत भएको थियो। 

बैंकस्थित उच्च स्रोतका अनुसार अन्ततः तिमिल्सिनाद्वयलाई भीआरएस स्किम ल्याएर बिदाइ गरिएको हो। ‘बजारमा उनीहरुको बर्हिगमनको विषयमा नकारात्मक सन्देश पनि नजाओस् र उनीहरुले सहजै बैंक पनि छाडून् भन्ने उद्देश्यले भीआरएस ल्याएर बिदाइ गरेका हौँ’, एक सञ्चालकले बिजशालासँग भने।

तिमिल्सिनाद्वयको बिदाइपछि बैंकले रामचन्द्र खनाललाई निमित्त सीईओ जिम्मेवारी दिएको छ।