काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ६१ करोड नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४७.६९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत २ अर्ब २९ करोड आर्जन गरेको छ। यो पनि गत वर्षको तुलनामा ४५.९६ प्रतिशतले बढी हो। गत वर्ष सञ्चालन मुनाफा १ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ८६ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन गत वर्ष २ अर्ब ७३ करोड रुपैयाँ थियो। यो हिसाबले बैंकको व्यवसाय आक्रामक देखिएको छ।

बैंकले १ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेको छ। गत वष यही अवधिसम्म बैंकले १ खर्ब ३१ अर्ब निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार भने ०.३५ प्रतिशतले घटेर ५ अर्ब १० करोड रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ५ अर्ब १२ करोड रुपैयाँ थियो।

बैंकको खराब कर्जा दर १.९६ प्रतिशतबाट बढेर २.३८ प्रतिशत पुगेको छ भने आधार दर घटेर ७.४ प्रतिशतमा सीमित बनेको छ। 

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.६७ रुपैयाँबाट बढेर २२.३४ रुपैयाँ पुगेको छ। पीई रेसियो १९.८७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६०.४१ रुपैयाँ रहेको छ।