काठमाण्डौ ।असोज महिनाको तुलनामा कात्तिक महिनामा अधिकांश म्युचुल फण्डहरुको आय तथा मुनाफा घटेको छ ।

सञ्चालनमा रहेका ४२ वटा फण्डहरुले सार्वजनिक गरेको कात्तिक महिनाको विवरणअनुसार ४१ वटाको नाफा घट्न पुगेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० को मात्रै नाफा बढेको छ ।

असोज महिनामा ५ लाख ६२ हजार २१० रुपैयाँघाटा व्यहोरेको उक्त फण्डले कात्तिक महिनामा २१ लाख ९ हजार २२ रुपैयाँ नाफा आर्जन गरेको छ । 
पछिल्लो समय सेयरबजारमा लगातार गिरावट आउँदा म्युचुअल फण्डहरुको नाफा, न्याभ तथा सूचीकृत सेयरमा समेत लगानीको आकार घट्दै गइरहेको छ । 

नेपाल धितोपत्र बोर्डले आईपीओलगायत आरक्षणमा प्राप्त गरेको सेयर बिक्रीमा छ महिनासम्म रोक लगाउने नीतिले गर्दा पनि फण्डहरुको वित्तीय विवरण निराशनजक देखिएको हो ।

 सेबोनले ल्याएको यस्तो नीति र पछिल्लो समयको घट्दो बजारका कारण अधिकांश म्युचुअल फण्डहरु घाटामाछन् ।ती फण्डमध्ये एनआईसी एसिया ग्रोथ फण्ड र हिमालयन ८०–२० मात्रै नाफामा छन् । तर एनआईसी एशिया ग्रोथ फण्डको नाफा अघिल्लो महिनाको तुलनामा भने घट्न पुगेको छ । 

हिमालयन ८०–२० को प्रतिइकाई खुदमूल्य (न्याभ)समेत ०.०३ रुपैयाँले बृद्धि भएको छ । असोज महिनामा ९.९९ रुपैयाँ रहेको फण्डको न्याभ कात्तिक महिनामा बढेर १०.०२ रुपैयाँपुगेको छ । 

साथै उक्त फण्डले सूचीकृत सेयरमा लगानी समेत बढाएको छ । असोज महिनामा ३ करोड ६६ लाख ३८ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको हिमालयन ८०–२० ले १ करोड ३० लाख १४ हजार रुपैयाँ बढाएर कात्तिक महिनामा ४ करोड ९६ लाख ५२ हजार रुपैयाँ लगानी गरेको छ । 

हिमालयन ८०–२० एक बन्दमुखी योजना हो । यो योजनाको अवधि १० वर्षको छ ।