– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालको प्राथमिकतामा बुक बिल्डिङ नपर्दा करिब डेढ महिनादेखि दुई कम्पनीको फाइल सेबोनमै अड्किएको छ। 

सेबोनबाट समयमै बुक बिल्डिङ आवश्यक प्रक्रिया अघि नबढ्दा बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको तयारी गरिरहेका अन्य रियल सेक्टर कम्पनीहरु पनि अलमलमा परेको अवस्था छ।

बुक बिल्डिङमार्फत आईपीओ निष्कासनको आवश्यक प्रक्रिया सम्पन्न गरी सर्वोत्तम सिमेन्टको गत असार २८ गते र रिलायन्स स्पिनिङ मिल्सको असार ३१ गते नै फाइल सेबोन पुगिसकेको छ। तर, सेबोन अध्यक्ष हमालको प्राथमिकतामा बुक बिल्डिङ नपर्दा दुवै कम्पनीको फाइल सेबोन पुगेको डेढ महिना हुँदा पनि अहिले उक्त विषय प्रारम्भिक अध्ययनकै चरणमा रहेको छ।

सेबोनका कर्मचारीहरु अध्यक्ष हमालको प्राथमिकतामा बुक बिल्डिङजस्तो सानातिना काम नपर्ने गरेकाले बुक बिल्डिङमा ढिलासुस्ती भएको बताउँछन्। ‘अध्यक्षको प्राथमिकतामा अहिले तीनवटा काममात्र छन्’, सेबोनका एक अधिकारीले भने, ‘नयाँ स्टक एक्सचेन्ज, नयाँ ब्रोकर लाइसेन्स र कमोडिटिज लाइसेन्सबाहेक अन्य विषय अध्यक्षको प्राथमिकतामा पर्दैन। बजार विकास र विस्तारमा केन्द्रित हुनेभन्दा पनि लाइसेन्स वितरण गर्नमा नै अध्यक्षको ध्यान केन्द्रित हुने गरेको छ। त्यसैले अध्यक्षकै प्राथमिकतामा बुक बिल्डिङ नपर्दा ढिलासुस्ती भएको देखिन्छ।’

सेबोनका प्रवक्ता रुपेश केसीले बुक बिल्डिङमार्फत सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन अहिले सेबोनमा प्रारम्भिक अध्ययनको चरणमा रहेको बताए। ‘बुक बिल्डिङमार्फत आईपीओ निष्कासन नयाँ इस्यू भएकाले केही समय बढी लागेको हो। अहिले सेबोनको नियमन महाशाखाले उक्त विषयको नै अध्ययन गरिरहेको छ’, उनले भने।