काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अध्यक्ष डा. रेवतबहादुर कार्कीले आर्थिक अनियमितता गरेको भन्ने कपोकल्पित र नियोजित समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्ष कार्कीले १८ औँ टोकियो सेमिनार अन सेक्युरिटिज मार्केट रेगुलेसनमा भाग लिई बोर्डबाट ६ लाख रुपैयाँ लिएको भनी उल्लेखित भएको समाचार पूर्ण रुपमा कपोकल्पित तथा झुट्टा रहेको दाबी गरेको छ । उक्त समाचारमा उल्लेख भएबमोजिम बोर्डबाट कार्कीले कुनै लाभ नलिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएकोमा आयोगले नै सत्यतथ्य छानबिन गरी बाहिर ल्याउने विज्ञप्तिमा प्रस्ट्याइएको छ ।

यस्तै बोर्डका अध्यक्ष कार्की अख्तियारमा उजुरी परेको थाहा पाएपछि अमेरिका जाने तयारीमा रहेको र असोज ४ गतेदेखि बिदामा बस्ने तयारीमा रहेको भन्नेलगायतका खबर पनि कसैको पनि व्यक्तिगत वा अन्य सम्बन्धमा समाचार प्रकाशित गर्दा सम्बन्धित पक्षको समेत भनाइ राख्नुपर्ने पत्रकारिताको सामान्य मान्यताविपरीत एकतर्फी ढंगले प्रकाशित भएकोमा आपत्ति जनाइएको छ । उक्त समाचारले पाठकमा पर्ने भ्रम, सम्बन्धित व्यक्तिको सामाजिक जीवनमा पर्ने प्रभाव र गलत समाचार सम्प्रेषणले स्वयं सञ्चारमाध्यमको विश्वनीयतामाथि नै असर पुग्ने विज्ञप्तिमा उल्लेख छ । यस्ता समाचार प्रकाशन गर्नुपूर्व सत्यतथ्यलाई ध्यान दिन दिन बोर्डले आग्रह गरेको छ।

अख्तियारमा अध्यक्ष कार्कीविरुद्ध गत भदौ ३० गते उजुरी दर्ता भएको थियो । उजुरीमा २०७४ चैत ७ गते देखि १४ गतेसम्म जापानको टोकियोमा भएको सेमिनार अर्थ मन्त्रालयको स्वीकृति नलिई बिदामा बसेर गएको र फर्केपछि बोर्डबाट भ्रमण खर्चबापत ६ लाख रुपैयाँ भर्पाइ लिएको भन्दै छानबिन गर्न माग गरिएको छ।

कार्की २०७२ असोज ३० गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनको कार्यकाल एक महिनामात्रै बाँकी छ।

कार्कीले उजुरीमा उल्लेख गरिएजस्तो आफूले कुनै आर्थिक लाभ नलिएको दाबी गरे। उनले पनि अख्तियारले छानबिन गरिरहेको र सत्यतथ्य छिटै बाहिर आउने बताएका छन्।