 
                     
                                
                             
                                    काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको कार्यान्वयनसँगै नेपाली सेयर बजारले काँचुली फेर्ला र बजार बुम होला भन्ने धेरैलाई लागेको थियो । यथार्थ आज हाम्रोसामु छ ।
धेरैको विश्लेषण गलत साबित गर्दै नेपालको सेयर बजार परिसूचक नेप्से उल्टो गतिमा कुदिरहेको छ ।
अनलाइन प्रणाली कार्यान्वयनको खबरले मात्रै पनि माथि चढ्ने बजार त्यही प्रणालीको कार्यान्वयनपछि भने निरन्तर ओरालो लागिरहेको छ । अनलाइन प्रणालीको कार्यान्वयनपछि पनि बढ्छ भनेको बजार किन घटिरहेको छ ? के कुराले बजार घट्न मद्धत गरिरहेको होला ?
विश्लेषकहरुका अनुसार अहिले बजार घटाउने थुप्रै कारण सतहमै देखिएका छन् । मुख्य रुपमा अनलाइन प्रणालीको अन्यौलपूर्ण कार्यान्वयन र नेप्सेलाई सरोकारवाला सबै क्षेत्रको भरपूर सहयोग नहुँदा यो अवस्था सिर्जना भएको हो ।
नेप्सेले समेत हतारमा अनलाइन प्रणालीको कार्यान्वयन गर्यो । परिणामस्वरुप केही दिन अनलाइन सिस्टमले काम गरेन, लगानीकर्ताले अझै नयाँ सिस्टम चलाउन जानेनन् ।
मुख्य समस्या नेप्सेले समाधान गरे पनि अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताको सहभागिता सोचेजस्तो बढ्न सकेको छैन । यसमा ब्रोकरहरुको भूमिकाले समेत प्रभाव पारिरहेको विश्लेषकहरु दाबी गर्छन् । ब्रोकरहरुले आफ्ना केही शर्त राखेर ती पूरा नभएसम्म अनलाइन कारोबार गर्ने लगानीकर्ताहरुलाई यूजरनेम र पासवर्ड दिने बिषयमा असहयोग गरिदिएका कारण पनि अनलाइन कारोबारमा लगानीकर्ताको कम सहभागिता देखिएको एक बजार विश्लेषकको दाबी छ । ‘ब्रोकरले अनलाइन प्रणालीमा पहिलादेखि नै राम्रो ढंगले सहयोग गरिरहेका छैनन् ।’ ती विश्लेषकले बिजशालासँग भने–‘अहिले पनि अनेकन शर्त राखेर लगानीकर्तालाई अनलाइन प्रणालीबाट तत्कालका लागि बिमुख गराउने काम भइरहेको छ, यो राम्रो भएन ।’
‘बजारलाई १००० भन्दा तल झार्ने यसअघि प्रयास गर्ने समूह नै अहिले बजार घटाउने उपयुक्त समय हो भन्दै पुनः सक्रिय भएको पाएका छौ ।लगानीकर्ताका केही नेता समेत यो धन्दामा छन् ।’
ब्रोकरहरु भने आफ्ना कारणले बजार घटेको वा लगानीकर्ताको सहभागिता घटेको कुरालाई मान्न तयार छैनन् । नाम उल्लेख नगर्ने शर्तमा एक ब्रोकरले नेप्सेले पर्याप्त तयारीबिना अनलाइन प्रणाली कार्यान्वयन गरेका कारण सुरुवातमा यस्तो भएको हो ।
अनलाइन कारोबारसँग जोडिएका कैयन महत्वपूर्ण पक्षहरुको बिषयमा अझै पनि स्पष्ट व्यवस्था हुन सकेको छैन, यसले समेत लगानीकर्तालाई उत्साहित बनाउन नसकेको ती ब्रोकरको दाबी छ ।
योसँगै बढ्दो ब्याजदर, व्यक्तिगत ओभरड्राफ्ट कर्जामा भएको कडाईको सोझो प्रभाव, बैंकहरुमा सहजै कर्जा पाउन छाडिएको अवस्था, बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंकहरुले नगद लाभांशमा जोड गर्दा यसबाट निराश बनेका सर्वसाधारण लगानीकर्ताको खस्कदो आत्मबल लगायतका कारण बजारमा उल्टो गति देखिएको दाबी ती ब्रोकरको छ ।
लगानीकर्ता संघका एक नेताले भने बजार घटाउने केही गिरोह अनलाइन कारोबार प्रणालीको कार्यान्वयनको क्रममा आएका केही समस्यामा टेकेर नियोजित रुपमै बजार घटाउन लागिपरेको दाबी गरेका छन् । ‘बजारलाई १००० भन्दा तल झार्ने यसअघि प्रयास गर्ने समूह नै अहिले बजार घटाउने उपयुक्त समय हो भन्दै पुनः सक्रिय भएको पाएका छौ ।’ती नेताले भने–‘लगानीकर्ताका केही नेता समेत यो धन्दामा छन् ।’ त्यो समूह कुन र कस्तो भन्ने प्रश्नमा उनले समय आएपछि त्यसको रहस्य खोल्ने दाबी पनि गर्न भ्याए ।
बजार घटाउने अन्य कारण पनि छन् । पछिल्लो समय लगानीकर्ताहरुले लगानीका अनेकन विकल्प पाएका छन् । तुलनात्मक रुपमा जोखिमरहित प्राथमिक बजारदेखि ऋणपत्रहरुमा समेत लगानीको प्रशस्तै अवसरहरु खुलेका छन् । तरलता अभाव भएको बेला निक्षेप तान्ने होडमा बैंकहरुको मुद्धती खातामा पैसा राख्दा समेत आनन्दले १० प्रतिशत भन्दा माथि ब्याज पाइने अवस्थाले समेत कतिपय लगानीकर्ता दोश्रो बजारमा जोखिम मोल्न चाहिरेका छैनन् । यो मनोविज्ञानले समेत पछिल्लो समय बजार घटाउन सहयोग गरिरहेको छ ।
बजारमा सोमबार के–के भयो ?
सोमबार पनि नेप्से परिसूचक ५.९ अंकले घटेर ११८९.५६ को विन्दूमा समेटिन पुग्यो । यो दिन बित्त समूह ०.९१ अंकले बढ्यो भने अन्य समूहमा २.३४ अंकको बढोत्तरी भयो । बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।
यो दिन बैंकिङ समूह ६.३ अंकले बढ्यो भने होटल समूह १९.६४ अंक, विकास बैंक समूह ५.९७ अंक, जलविद्युत समूह २२.७९ अंक, निर्जीवन बिमा समूह १२.७८ अंक, जीवन बिमा समूह ३२.१८ अंक र माइक्रोफाइनान्स समूह ७.५७ अंकले घटे ।
यो दिन बजारमा १ सय ४८ कम्पनीका ७ लाख ९ हजार ३ सय ७९ कित्ता सेयर २१ करोड २९ लाख १७ हजार २२ रुपैयाँमा किनबेच भयो ।
नेपाल बैंकले ३ करोड बढीको कारोबार गरेको यो दिन प्रभू बैंक र नेपाल टेलिकमले १ १ करोड बढीको कारोबार गरे । यसैगरी, एनआइसी एशिया बैंकले ७१ लाख, कुमारी बैंकले ५९ लाख, सिभिल बैंकले ५४ लाख, जनता बैंकले ५२ लाख, मुक्तिनाथ विकास बैंकले ५१ लाख बढीको कारोबार गरे ।
यो दिन मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा करिब ४ प्रतिशतले बढोत्तरी भयो ।
एभरेष्ट इन्स्योरेन्सको मूल्य समायोजन रद्ध भएसँगै सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । यो कम्पनीको मूल्य १० प्रतिशतले घट्यो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19