काठमाण्डौ । दोलखा जिल्लाका बासिन्दाहरुका लागि अपर तामाकोशी हाइडोपावर लिमीटेडले खुलाएको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)मा काठमाण्डौमा बसोबास गर्ने दोलखालीले आवेदन दिने समय साउन २५ गतेसम्म मात्र कायम गरिएको छ । 

बिक्री प्रबन्धक नागरिक लगानीकोष र सनराइज क्यापिटलले बुधबार एक सूचना प्रकाति गर्दै काठमाण्डौमा बसोबास गर्ने दोलखालीको हकमा साउन २५ गतेसम्म मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको प्रष्ट्याएका हुन् । 

यो हिसाबले अब काठमाण्डौमा रहेका दोलखाबासीले माथिल्लो तामाकोशीमा आवेदन दिन ३ दिन मात्र बाँकी रहेको छ । 

दोलखाका जिल्लाका लागि भने भदो १४ गतेसम्म नै आवेदन मिति तय गरिएको छ । 

माथिल्लो तामाकोशीमा काठमाण्डौबाट अचाक्ली आवेदन परेको छ । आवेदन संकलन केन्द्रहरुमा साउन १६ गतेदेखि(आवेदन खुल्ला भएको दिन) नै अचाक्ली भीड देखिएको छ । यही कुरालाई मध्यनजर गर्दै काठमाण्डौका लागि आवेदन दिने समय छोट्याइएको हो । 

माथिल्लो तामाकोशीको सेयरलाई सरकारका मन्त्रीदेखि अन्य समेत सुनको अण्डा पार्ने पोथीको संज्ञा दिएसँगै यसमा लगानी गर्न दोलखाबासी मरिहत्ते गरेर लागेका देखिएको छ । माथिल्लो तामाकोशीले पहिलो चरणमा १ करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर दोलखाबासीका लागि निश्कासन गरेको हो । दोश्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताका लागि निश्कासन हुने बताइएको छ ।