काठमाण्डौ । माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखा जिल्लाबासीका लागि खुलाएको आइपीओमा अचाक्ली आवेदन परेको छ । दिनहुँजसो आवेदन दिनको भीड बढ्न थालेपछि काठमाण्डौका लागि साउन २५ गतेसम्म मात्र आवेदन दिनसक्ने व्यवस्थामा हेरफेर गरेको छ । 

धितोपत्र बोर्डले काठमाण्डौका दोलखाबासीका लागि अपर तामाकोशीमा आवेदन दिने समय ७ दिन थप गरेको धितोपत्र बोर्डको सहप्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । 

तामाकोशीको आइपीओको बिक्री प्रबन्धक नागरिक लगानीकोष र सनराइज क्यापिटलका अधिकारीहरुले जिल्लास्थित राजनीतिक संयन्त्रबाटै काठमाण्डौका लागि आवेदन दिने समय बढाउनुपर्नेपर्ने माग लिखित रुपमै गरेका बताएका छन् । स्थानीयको मागलाई लिएर बिक्री प्रबन्धक बिहीबार दिउँसो धितोपत्र बोर्डमा पुगेका थिए । बोर्डले समेत छलफल गरी काठमाण्डौका लागि अपर तामाकोशीमा आवेदन दिने समय ७ दिन थप गरेको हो । 

दोलखा जिल्लाबाट आवेदन दिने अन्तिम समय भने भदौ १४ गतेलाई नै यथावत कायम गरिएको छ । 

बिक्री प्रबन्धकहरुका अनुसार अपर तामाकोशीको आइपीओमा साउन २३ गतेसम्म १ अर्ब ५ करोड रुपैयाँ भन्दा बढीको आवेदन परिसकेको छ । ५० हजार भन्दा बढी आवेदन परेका छन् । 

इच्छुकले न्यूनतम ३० देखि अधिकतम ३ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्। 

 

यो अवधिमा काठमाण्डौभित्रका संकलन केन्द्रबाट मात्रै ६० करोड ६३ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यस्तै, दोलखा जिल्लाबाट मात्रै ६ करोड १ लाख १ हजार १ सय रुपैयाँ बराबरको आवेदन परेको छ । काठमाण्डौबाट २८ हजार ६ सय ५ र दोलखाबाट ३ हजार २ सय ८९ वटा आवेदन परेका छन् ।

माथिल्लो तामाकोशीको सेयरलाई सरकारका मन्त्रीदेखि अन्य समेत सुनको अण्डा पार्ने पोथीको संज्ञा दिएसँगै यसमा लगानी गर्न दोलखाबासी मरिहत्ते गरेर लागेका देखिएको छ । माथिल्लो तामाकोशीले पहिलो चरणमा १ करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर दोलखाबासीका लागि निश्कासन गरेको हो । दोश्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताका लागि निश्कासन हुने बताइएको छ ।