काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गरेको आइपीओमा  आवेदन दिने समय ७ दिन थप गरिएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका १,०५,९०,००० कित्ता शेयर दोलखा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि साउन १६ गतेदेखि निश्कासन गरेको थियो । आइपीओमा आवेदन दिने अन्तिम समय १४ गते भनिएकोमा संकलन केन्द्रहरुमा अत्यधिक आवेदकहरुकोे चाप कायमै रहको हुँदा स्थानीयबासी र  जिल्ला समन्वय समितिको अनुरोधमा दोलखा स्थित संकलन केन्द्रहरुमा भदौ २१ गतेसम्म आवेदन दिन पाउने गरी ७ दिन समय थपिएको बिक्री प्रबन्धकमध्येको एक सनराइज क्यापिटलले जनाएको छ । 

यसअघि यो कम्पनीको आइपीओमा काठमाण्डौमा रहेका दोलखालीहरुका लागि समेत माग उच्च भएको भन्दै ७ दिन समय थपिएको थियो । 

माथिल्लो तामाकोशीले पहिलो चरणमा दोलखाबासीका लागि निश्कासन गरेको हो । दोश्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताका लागि निश्कासन हुने बताइएको छ । 

कम्पनीले गत साउन १६ गतेबाट दोलखालीका लागि खुलाएको आइपीओमा न्यूनतम ३० देखि अधिकतम ३ सय कित्ता सम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । 

आइपीओ संकलनका लागि दोलखास्थित विभिन्न बैंकका २६ शाखामा आवेदन केन्द्र तोकिएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र समेत राखेर आवेदन लिने क्रम जारी छ । 

राजधानीमा बसोबास गर्ने दोलखालीका लागि भने भदौ १ गतेसम्म मात्र आवेदन दिने समय तोकिएको थियो । काठमाण्डौबाट हजारौं दोलखालीले सनराइज बैंकका तोकिएको ११ शाखामा पुगेर आइपीओ खरीदका लागि आवेदन दिएका थिए ।