काठमाण्डौ । अमेरिकाले टिकटकलाई फेरि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। 

लोकप्रिय भिडियो एप टिकटकले अमेरिकी सरकारले चीनमा रहेका आफ्नो मालिक कम्पनीको सेयर बेच्न निर्देशन दिएको दाबी गरेको छ। अन्यथा अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिएको टिकटकले जनाएको छ। 

समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो। अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन्।

अमेरिकाले लामो समयदेखि टिकटकले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई पठाउने गरेको आरोप लगाउँदै आएको छ। 

विगतदेखि नै अमेरिकी सरकारसँग टिकटकको सम्बन्ध तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ।

सन् २०२० मा टिकटकलाई अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा प्रतिबन्ध लगाइएको थियो। तर, पछि अमेरिकी अदालतले ट्रम्प सरकारको उक्त निर्णयलाई अस्वीकार गरेको थियो।

वर्तमान बाइडेन प्रशासनको कार्यकालमा यो पहिलोपटक टिकटकमा प्रतिबन्धको धम्की दिइएको हो। –एजेन्सी