काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केहि न केहि भएपनि नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गर्दै आएको पनि बताए ।

बिहीबार काठमाण्डौमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा आशाको सञ्चार हुन नसकेको बताए । उनले यसका लागि अझै मिहिनेत गर्नुपर्ने भन्दै अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केहि नयाँ घोषणासमेत गर्ने तयारी गरिरहेको बताए ।

यसैगरी, मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह पनि गरे ।