काठमाण्डौ ।विभिन्न पत्रपत्रिकामा प्रकाशित सूचनालाई आधार मान्ने हो भने आइतबार मात्रै तीन दर्जनभन्दा बढी कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेका  छन् ।

साना किसान विकास लघुवित्त,छिमेक लघुवित्त संस्था,घलेम्दी हाइड्रो,हिमालयन बैंकलगायतका दर्जनौं कम्पनीहरुले आइतबार साधारणसभा सम्पन्न गरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत रहेका कतिपयले यस अघिनै वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन्  ।

आइतबार मात्रै धेरैजसो कम्पनीले हतार हतार सम्पन्न गरेता पनि केहि कम्पनीको त अझै साधारणसभाको टुंगो समेत छैन ।

नियामकीय व्यवस्थाअनुसार कुनै पनि आर्थिक वर्षको साधारणसभा आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्रमा गरिसक्नु पर्ने प्रावधान छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ को छ महिना पनि वित्नै लाग्दा  दण्ड जरिवनाबाट बच्नको लागि कर्मकाण्डी साधारणसभा गरिएको लगानीकर्ताहरुको आरोप छ । 

एकै दिन धेरै कम्पनीहरुको साधारण सभा हुँदा सेयरधनीहरु सबै कम्पनीको साधारण सभामा भाग लिनबाट वञ्चित भएका छन् । 
नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड,नेप्से, विद्युत् नियमन आयोग,नेपाल बीमा प्राधिकरणको बेवास्ताका कारण सूचीकृत कम्पनीहरुले केहि वर्षदेखि नै यस्तो प्रचलन निरन्तर जारी राखेको लगानीकर्ताहरु बताउँछन् ।

 

यसबारे सक्रिय लगानीकर्ता गोविन्द प्रसाद घिमिरेले यसरि हतार हतारमा साधरण सभा गर्नुमा कतिपय कम्पनीको बाध्यता त होला तर लगानीकर्ताको अधिकार भने हनन् भएको बताएका छन् ।

उनका अनुसार माघ महिना लागेपछि दण्डजरिवानामा परिन्छ भनेर कम्पनीहरुले  हतारमा सम्पन्न गरेका होलान तर यो उपयुक्त भने होइन । 
 

अर्का बजार जानकार कमल प्रसाद अधिकारी भन्छन,  ‘हतार हतारमा साधारणसभा गर्नुले कम्पनीको विश्वसनीयता कम हुनु हो ।’ 
उनका अनुसार यस्तो कर्मकान्डी प्रबृतिले साधारण सभा गर्नुपर्छ भन्ने धारणा मात्र विकसित हुन्छ ।

नेप्सेका प्रबक्ता मुराहरि पराजुली चाहिं संसदले नै पास गरेको ऐन कानूनमा नै नयाँ आर्थिक वर्ष सुरु भएको छ  महिना  भित्र साधारणसभा गर्नु भन्न्ने व्यवस्था रहेको कारण नेप्सेले नियमनको पाटोमा केहि पनि गर्न नसक्ने बताउँछन् ।