काठमाण्डौ । कमजोर कम्पनीका आइपीओहरु समेत बिक्री हुन छाडेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि घलेम्दी हाइड्रोपावर कम्पनीले निश्कासन गरेको ५ लाख ५० हजार कित्ता आइपीओ १७ प्रतिशत मात्र बिक्री भएको हो । 

कम्पनीले आयोजना प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि २०७५ असार २२ देखि साउन २० गतेसम्म आइपीओ निश्कासन गरेको थियो । 

निश्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार स्थानीयले ९४ हजार ७ सय ८० कित्ता खरीदका लागि मात्र आवेदन दिएका छन् । परेका आवेदनहरुले माग गरेअनुसार नै आइपीओ बाँडफाँड साउन २९ गते गरिसकिएको छ । आवेदन नपरेका ४ लाख ५५ हजार २ सय २० कित्ता भने अब सर्वसाधारणका लागि खुल्ला गरिनेछ । 

आइपीओ प्राप्त गरेका कसैले पनि ३ वर्षअघि दोश्रो बजारमा सेयर बिक्री गर्न पाउने छैनन्। 

दोश्रो चरणमा यो कम्पनीले चुक्तापूँजीको २० प्रतिशतको दरले सर्वसाधारणलाई आइपीओ बिक्री गर्नेछ । २० प्रतिशतसमा बिक्री नभएको सेयर समेत जोड्दा सर्वसाधारणका लागि निकै धेरै कित्ता आइपीओ आउने देखिन्छ । 

घलेम्दीले ४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।