काठमाण्डौ । केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला पानीजहाजको सपना देखाए । उनको छोटो प्रधानमन्त्रीत्वकालमा ठूला काम नभए पनि नेपालले चाह्यो भने धेरै कुरामा आत्मनिर्भर हुनसक्छ भन्ने आशा जगाउने सकारात्मक काम चाहि भएकै हो । समग्रमा ओलीकै कारण नेपालीहरुले सपना देख्न सुरु गरेका छन् । 

ओलीकै सपना देखाउने कलाबाट प्रभावित भएर प्रधानमन्त्री प्रचण्डले केही दिनअघि देशबासीको नाममा लामो सम्बोधन गरे र उनले समेत सपना देखाउने काम गरे । 

समग्रमा हेर्दा नेपालका नेताहरु कुर्सीमा पुगेपछि सपनाको गुलिया कुरा गर्न माहिर छन् । एउटा सत्तामा पुग्छ, एउटा सपना देखाउँछ ,अर्को पुग्छ अर्को सपना देखाउँछ । अनि हामी नेपालीहरु चाहि सपना सँगालेर मीठो यथार्थ(दिन)को पर्खाइमा परिरहन्छौ, डूबिरहन्छौ । 

सपना देखाउनु राम्रो होला । सपना नदेख्ने मान्छे सफल हुँदैन भन्ने कुरा पनि सत्य होला । तर नेपालको सन्दर्भमा सत्ताको बागडोर सम्हाल्नेहरुले ठूला ठूला सपना होइन, साना साना सुधारका काम गरिदिए नै काफी हुन्छ । एकदुई घण्टा पानी पर्ने बित्तिकै जलमग्न हुने काठमाण्डौको शहरीकरणलाई थोरै भए पनि व्यवस्थित बनाइदिए पुग्छ । हामीले यहाँ फोटोफिचरमार्फत पानी जहाज नै कुदाउन मिल्ने खालका काठमाण्डौको एक मुख्य क्षेत्रको सडकको दुर्गति सचित्र देखाउन खोजेका छौ । 

तस्विरमा देखिएको सडक थापाथली चौकबाट नर्भिक अस्पतालतर्फको हो । जहाँ केही घण्टाको पानीले नै पानी जहाज कुदाउन मिल्ने गरी सडकमै समुन्द्रजस्तो पानीको विशाल रुप बनेको देख्न सकिन्छ । अनि, सडकमा सवारी साधनहरु पनि पानीमा डूबुल्की मार्दै हिँडिरहेका देख्न सकिन्छ । 

निश्कर्ष यत्ति हो : ठूला सपना जनतालाई देख्नु छैन । प्रचण्ड सरकारलाई यति आग्रह, कम्तीमा यी सडकको यस्तो दुर्गति अन्त होस् । जथाभावी भइरहेको शहरीकरणलाई व्यवस्थित गरियोस् । ढल निकासको उचित प्रबन्ध बिना नै महल ठड्याउने, चिल्ला सडक बनाउने केटाकेटी काम गर्दा बर्खायाममा सामान्य पानी समेत यसरी जम्छ र राजधानीकै सडक पानीजहाज कुदाउन लायक भइदिन्छ भन्ने कुरा सरकार संचालकहरुले भूल्न भएन ।

बाँकी फोटोमार्फत ।