-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता दोस्रो बजारमा ५ दिन कारोबार भयो । नेप्से ४ दिन घट्यो भने १ दिन बढ्यो । 

अघिल्लो साता १८६९.५९ मा बन्द भएको बजार यो साता १८३८.५९ मा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ३१.१४ अंकले गिरावट आयो । 

यो साता दोस्रो बजारमा ५ दिनमा ३ अर्ब २४ करोड बराबरको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ४ कारोबार दिनमा करिब २ अर्व ८९ करोड मात्रै भएको थियो । यस हिसावले यो साता दैनिक औषत कारोबार जम्मा ६५ करोड मात्रै हुन आएको देखिन्छ । यस्तो कारोबार अघिल्लो साता ७५ करोड बराबर भएको थियो ।

बजारमा यो साता पनि सूचक र कारोबार दुवैमा गिरावट आएको देखिन्छ । यो सातासम्म दोस्रो बजारमा लगातार ४ साता गिरावट आएको देखिन्छ । 

प्राविधिक पक्ष:

इलिअट वेभको आधारमा 
इलिअट वेभमार्फत बजारलाई माइनर डिग्रीमार्फत हेर्ने हो भने पछिल्लोपटक जनवरी महिनाको उच्च बिन्दु २२७५ रहेको देखिन्छ । यहाँबाट घटेको बजारलाई इलिअट वेभमार्फत हेर्ने हो भने वेभ १ करिब २०० अंक घटेर २०५७ सम्म आएको देखिन्छ । त्यसपछि वेभ २ मा केही बढेर २२०० आसपास पुगेको देखिन्छ । 

इलिअट वेभअनुसार वेभ ३ केही लामो र ठूलो हुने गर्छ भन्ने सिद्धान्तलाई आधार मान्दा बजार त्यहाँबाट खसेर करिव १८३५ मा आएर यो वेभ सकिएको देखिन्छ । वेभ ४ मा केही बढेर १९७५ सम्म पुगेको देखिन्छ । 

हालको करेक्सन माइनर डिग्रीको वेभ ५ को करेक्सन हुँदै गरेको देखिन्छ । इलिअट वेभकै सिद्धान्तलाई टेकेर भन्ने हो भने यदि वेभ १ बराबर वेभ ५ हुन्छ भन्ने पनि हो   । यस हिसाबले वेभ १ को लम्बाइ २०० अंक देखिन्छ । त्यही आधारमा अब( १९७५–२००) हालको करेक्सन करिव १७६० देखि १७७५ सम्मको कुनै पनि विन्दुमा आएपछि मात्रै सकिनसक्छ । भलै यो इन्ट्रा डेमा मात्रै पनि सीमित हुनसक्छ । त्यस पछि बढेको बजार पुनः एबीसी बनाउँदै यसअघिको उचाइ २२०० सम्म पुग्न सक्छ । (माथि मुख्य तस्विरमा हेर्नुहोस् )

बोलिङगर ब्यान्ड, म्याक्डी तथा आरएसआई 

बजारलाई साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डमार्फत हेर्दा पनि बजारमा करेक्सन केही समय अझै चल्नसक्ने देखिन्छ । साप्ताहिक बोलिङ्गर ब्याण्डमा बजारले अघिल्लो महिना नै मध्यब्याण्ड छोडेर तल झरेको छ । यसले केही समय लियर तल्लो ब्याण्डसम्म सपोर्ट लिन आउनसक्छ भन्ने देखिन्छ । साप्ताहिक चार्टमा नै म्याक्डीमार्फत हेर्दा बजारले अघिल्लो महिना नै वियरिस क्रसओभर बनाएको छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा नै हुँदै गएका छन् । 

आरएसआई हाल ३८ को तहमा रहेको छ । घट्दो बजारमा आरएसआई एकपटक ओभरसोल्ड जोननजिक अर्थात ३० को आसपास आउनसक्छ । 

पिभट प्वाइन्ट 


पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 
प्रतिरोध ३– १९३४
प्रतिरोध २– १९१२
प्रतिरोध १– १८९१
पिभट प्वाइन्ट: १८६८

घटेमा सपोर्ट 
सपोर्ट १– १८४७
सपोर्ट २– १८२५
सपोर्ट ३– १८०३

निश्कर्ष
यो साता पनि सेयर बजारमा कारोबार र सूचक दुवैमा गिरावट आयो । अघिल्लो साता २० अंकले गिरावट आयो भने यो साता ३१.१४ अंकले गिरावट आयो । यस हिसाबले यो साता पनि बजारमा कारोबार र सूचक दुवैममा गिरावट जारी रह्यो । यस्तो गिरावट दोस्रो बजारमा ४ सातादेखि निरन्तर छ।

बजारलाई  पछिल्लो पटकको उच्चविन्दु २२७५ देखि इलिअट वेभमार्फत हेर्दा वेभ १ देखि ५ सम्मको चक्र करिब १७७५ आसपासमा टुङ्गिनसक्ने देखिन्छ । त्यसैगरी साप्ताहिक रुपमा नै बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा हाल मध्यब्यान्डबाट तल झरेको बजार तल्लो ब्यान्डसम्म आउन सक्छ । यो भनेको पनि करिब १७७५ सम्मको विन्दु हुनसक्छ ।

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यस्ता प्राविधिक विश्लेषण कारोबारका लागि सिफारिस भने होइनन् ।)