काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ १६ गते अन्तिम दिन रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज माघ १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

शिखर इन्स्योरेन्सले आफ्नो १७ औँ र १८ औँ  वार्षिक साधारणसभा यही माघ २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी  २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँको कुल १६.८४२१ प्रतिशतले हुन आउने ३८ करोड ५० लाख २४ हजार ८२ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा १६ प्रतिशतले हुन आउने ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुन आउने १ करोड ९२ लाख ५१ हजार ९० रुपैयाँबराबरको नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि चुक्तापुँजी र जारीपुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले कम्पनीमा सञ्चालकहरुको नियुक्तिसम्बन्धी नियममा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। जसअनुसार अब संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ। यसअघि संस्थापकबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने नियम थियो। 

अन्य कुनै बीमा कम्पनी आपसमा गाभ्ने, गाभिन वा प्राप्ति गर्ने सन्दर्भमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभामा आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ। 

यसैगरी नेरुडे लघुवित्तले आफ्नो १६ औँ वार्षिक साधारणसभा यही माघ २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २३.१५७९ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि संस्थाको जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्त संस्था गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु छलफल गरी स्वीकृत गर्नेछ।