काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ। 

बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो २२ औँ वार्षिक साधारणसभा आउँदो मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७९–८०का लागि प्रस्तावित चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। 

सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकारको पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७९–८०को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।