काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमाललाई आफूमाथि लागेको आरोपबारे आफ्नो धारणा स्पष्ट पार्न लगानीकर्ताहरुले माग गरेका छन्। 

नेपाल सेयरधनी संघले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। ‘नेपालको पुँजीबजारको सर्वोच्च नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालका बारेमा विभिन्न सञ्चारमाध्यममार्फत प्रवाह भएका समाचारप्रति हाम्रो गम्भीर चासो र सरोकार रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता समाचारले पुँजीबजारको स्वच्छता र लगानीकर्ताको मनोबलमा गम्भीर नकारात्मक असर गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौँ।’

ती समाचारमा अध्यक्ष हमालप्रति लगाइएका आरोपहरुप्रति स्वयं अध्यक्ष हमाल र अर्थ मन्त्रालयले आफ्नो धारणा स्पष्ट पार्न र सत्यतथ्य सार्वजनिक गर्न विज्ञप्तिमा माग गरिएको छ। 

यदि धितोपत्र बोर्ड र त्यसका अध्यक्षविरुद्ध आधारहीन कपोकल्पित भ्रामक तथ्यहीन कथा बुनेर पुँजीबजारजस्तो संवेदनशील क्षेत्रका बारेमा जथाभावी लेख्ने र सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने कार्य गरिएको हो भने सम्बन्धित सञ्चार माध्यमहरुलाई जिम्मेवार र जबाफदेही बनाउने कार्य गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ।