काठमाण्डौ । चालु आव २०८०/८१ को पाँच महिनामा आयात र निर्यात दुवैमा कमी आएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०/८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । 

समिक्षा अवधिमाल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई रु.६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल,चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई रु.६४२ अर्ब २१ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ ।

समिक्षा अवधिमा शोधनान्तर स्थिति रु.२१० अर्ब ५९ करोडले बचतमा रहेको छ ।