काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब माथि पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

जसमा वाणिज्य बैंकहरुको ५४ अर्ब ७ अर्ब रुपैयाँ र बाँकी ६ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप विकास बैंक र फाइनान्स कम्पनीको छ।

पछिल्लो समय बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढीरहेको छ। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिरहेको छ। उक्त अवधिसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८०.१४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

 

पुस महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप ८९ अर्ब रुपैयाँले बढेको छ।

मंसिर अन्तिमसम्ममा बैंकहरुले कुल ४९ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। पुसमा कर्जा लगानी ६२ अर्ब रुपैयाँले बढेको छ।

पुस २७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ५० खर्ब ५८ अर्ब रुपैयाँले बढेको छ ।

बैंक, वित्तीय संस्थामा लगानीयोग्य रकम बढ्दै गएपछि ब्याजदर लगातार घट्न थालेको छ । विप्रेषण आप्रवाहमा देखिएको सुधारसँगै निक्षेप बढे पनि त्यसअनुसार कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका हुन् ।

निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधारदर कम भई कर्जा पनि सस्तो हुन थालेको छ । 

पछिल्लो समय विप्रेषण वृद्धिसँगै बैंकहरूमा निक्षेप बढिरहेको छ । उता आर्थिक गतिविधिमा कमी आउँदा बैंकमा कर्जाको माग भने सुस्त छ ।बैंकहरूसँग अधिक तरलता भएपछि मङ्सिरयता राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण जारी गरी बजारबाट पैसा उठाइरहेको छ ।