काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१ को मंसिर महिनामा मुद्रास्फीति घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा समग्र मुद्रास्फीति ४.९५ प्रतिशत कायम  छ । 

गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार चालू आवको कात्तिक महिनामा पनि मुद्रास्फीति घटेको पाइएको छ । उक्त महिनामा समग्र मुद्रास्फीति ५.३८ प्रतिशत कायम थियो । 
 

सार्वजनिक तथ्यांक अनुसार खाद्य तथा पेय पदार्थ र गैर–खाद्य तथा सेवामा पनि मुद्रास्फीति घटेको छ ।

गत आवको मंसिरमा खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.८५ प्रतिशत थियो भने  घटेर चालू आवको सोहि अवधिमा ५.१० प्रतिशत कायम भएको छ ।

त्यस्तै गैर खाद्यतर्फ ८.५९ प्रतिशत रहेको मुद्रास्फीति घटेर चालू आवको मंसिर महिनामा ४.८५ प्रतिशतमा कायम भएको छ । 

त्यस्तै मंसिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति भने ९.१५ प्रतिशत थियो ।

मंसिर महिनामा काठमाण्डौ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ४.२६ प्रतिशत, पहाडको ५.४२ प्रतिशत र हिमालको ७.४६ प्रतिशत छ।

अघिल्लो वर्षको सोही महिनामा ती क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.५६ प्रतिशत, ८.०० प्रतिशत, ७.३२ प्रतिशत र ६.४८ प्रतिशत थियो।