काठमाण्डौ । कतिपय कम्पनीहरुले जारी गरेका आइपीओ तथा एफपीओ नबिकेर बिजोग भइरहेको बेला आरम्भ माइक्रोफाइनान्सको आइपीओमा भने थामिनसक्नुु भीड देखिएको छ । 

आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि निश्कासन गरेको २ करोड ९४ लाख मूल्यको २ लाख ९४ हजार कित्ता आइपीओमा थामिनसक्नुु आवेदन परेको हो । 

पहिलो दिनमै यो कम्पनीको आइपीओमा मागभन्दा तीनगुणा बढी आवेदन परेको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमीटेडले जनाएको छ । पहिलो दिन देशभरबाट १६ हजार २ सय ४३ जनाले १० करोड २० लाख भन्दा बढीको आवेदन दिएका हुन् । 

कम्पनीको आइपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने भएकाले अन्तिम दिनसम्म अचाक्ली आवेदन पर्ने देखिएको छ । 

काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

एकसय रुपैयाँ दरका कुल निश्कासन हुने कित्तामध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । तर, धितोपत्र बोर्डले सार्वजनिक निश्कासनको बाँडफाँडमा प्रति आवेदक १० कित्ता अनिवार्य गरेपछि हौसिएर धेरै आवेदन गर्नु आवश्यक छैन ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीको हालको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड रुपैयाँको उचाईमा पुुगेको छ ।