काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले निश्कासन गरेको करिब ३ करोड मूल्य बराबरको आइपीओमा फागुन २० गते आइतबारसम्म ७३ करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ । यो हिसाबले आइपीओमा आवेदन दिने पहिलो चरणको समय नसकिदै मागभन्दा २५ गुणा बढी प्रस्ताव परिसकेको देखिएको हो । 

कतिपय कम्पनीहरुले जारी गरेका आइपीओ तथा एफपीओ नबिकेर बिजोग भइरहेको बेला आरम्भ माइक्रोफाइनान्सको आइपीओमा भने अचाक्ली आकर्षण देखिएको हो । 

आवेदन परेको हिसाबले यो कम्पनीको आइपीओ पनि धेरै आवेदकले नपाउने देखिएको छ । धितोपत्र बोर्डले सार्वजनिक निश्कासन सम्बन्धी निर्देशिकामा एक आवेदकले न्यूनतम १० कित्ता सेयर पाउनैपर्ने भनेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको आइपीओमा १ लाख १४ हजार बढीले आवेदन दिइसकेका छन् । 

आरम्भले कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेकोले १० कित्ताका दरले २९ हजार ४ सयले मात्र सेयर पाउनेछन् । बाँकी फेरि पनि हिस्स बन्नुुपर्नेछ । 

आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि निश्कासन गरेको २ करोड ९४ लाख मूल्यको २ लाख ९४ हजार कित्ता आइपीओमा दोश्रो दिनसम्म ४४ हजार ३ सय ९३ आवेदकले २८ करोडको हाराहारीमा प्रस्ताव पेश गरेका थिए । पछिल्लो समय आवेदन पर्ने संख्या अचाक्ली बढी फागुन २० गतेसम्म ७३ करोडको हाराहारीमा आवेदन परिसकेको हो । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका एक अधिकारीका अनुसार कम्पनीको आइपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने भएकाले अन्तिम दिन अझ बढी आवेदन पर्नसक्ने देखिएको छ । 

काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

एकसय रुपैयाँ दरका कुल निश्कासन हुने कित्तामध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । तर, धितोपत्र बोर्डले सार्वजनिक निश्कासनको बाँडफाँडमा प्रति आवेदक १० कित्ता अनिवार्य गरेपछि हौसिएर धेरै आवेदन गर्नु आवश्यक छैन ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमीटेड रहेको छ । 

यो कम्पनीको हालको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड रुपैयाँको उचाईमा पुुगेको छ ।