काठमाण्डौ । आरम्भ माइक्रोफाइनान्सले खुलाएको आइपीओमा मागभन्दा करिब ४१ गुणा बढी आवेदन परेको छ । 

कम्पनीले निश्कासन गरेको २ करोड ९४ लाख मूल्यको आइपीओमा १ लाख ८९ हजार आवेदकबाट १ अर्ब २० करोड बराबरको प्रस्ताव परेको हो । तथ्यांकहरु मिलाउने काम भएकोले यो नै अन्तिम तथ्यांक भने होइन । १ अर्ब २० करोडमा समेत केही थप हुने संभावना रहेको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका एक अधिकारीले जानकारी दिए । 

ती अधिकारीले आगामी २० दिनभित्रमा आइपीओ बाँडफाँड गर्ने गरी तीव्र गतिमा कामलाई अगाडि बढाइने छ । 

आरम्भले कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेकोले १० कित्ताका दरले २९ हजार ४ सयले मात्र सेयर पाउनेछन् । बाँकी फेरि पनि हिस्स बन्नुुपर्नेछ । 

आरम्भ माइक्रोफाइनान्सले फागुन १५ गतेदेखि निश्कासन गरेको २ लाख ९४ हजार कित्ता आइपीओमा फागुन २० गतेसम्म ७३ करोडको हाराहारीमा आवेदन परिसकेको थियो । कम्पनीको आइपीओमा अन्तिम दिन फागुन २१ गते मात्रै ४७ करोड भन्दा बढीको आवेदन परेको देखिएको छ । 

काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

एकसय रुपैयाँ दरका कुल निश्कासन हुने कित्तामध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यो कम्पनीको हालको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड रुपैयाँको उचाईमा पुग्नेछ ।