– रेखा चन्द

काठमाण्डौ । नेपाल राष्ट्र बैंकक पूर्वगभर्नर डा तिलक रावलले अहिले देखिएका आर्थिक समस्याहरुको समाधान सबै पक्ष मिलेर गर्नुपर्ने धारणा राखेका छन्। 

काठमाण्डौमा सोमबार आयोजित नेपाल बैंकर्स संघ (एनबीए) को ३६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वगभर्नर रावलले यस्तो धारणा राखेका हुन्। ‘अहिले मुद्रास्फीति धेरै माथि गएको छ, यतिबेला राष्ट्र बैंकले तरलता छोडेन भनेर गाली गर्न मिल्दैन’, उनले भने, ‘अझै पनि मुद्रास्फीति कहाँ पुग्ने हो थाहा छैन।’

अहिले स्थिति एकदम अप्ठ्यारो मोडमा रहेको रावलले बताए। ‘राष्ट्र बैंकलाई पनि आर्थिक सन्तुलन मिलाउन चुनौती छ’, उनले भने, ‘बढ्दो ब्याजदरले उद्योगी–व्यवसायीहरु पनि मारमा परेका छन्। त्यसैले उनीहरुले उठाउँदै आएका माग पनि जायज छन्।’

यो बेला समस्या समाधान गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुको विकल्प नरहेको रावलले बताए।