काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आर्थिक वर्ष २०७९–८० मा ७ वटा कम्पनीलाई मात्रै हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ। 

सेबोनले ६ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनीलाई गरी कुल १५ अर्ब ९८ करोड २४ लाख २० हजार ७०.७८ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति दिएको हो। यी कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ करोड ९८ लाख २४ हजार २००.७१ कित्ता हकप्रद जारी गर्ने अनुमति पाएका छन्। 

गत आर्थिक वर्षमा राधी विद्युत, हिमाल दोलखा हाइड्रोपावर, नेसनल हाइड्रोपावर, अरुण काबेली पावर, सिनर्जी पवार डेभलपमेन्ट, अपर तामाकोशी र मल्टीपर्पस फाइनान्सले हकप्रद निष्कासनको अनुमति पाएका छन्। यीमध्ये राधी र हिमाल दोलखा हाइड्रोपावरले हकप्रद बिक्री खुला गरिसकेका छन् भने नेसनल हाइड्रोपावरले हकप्रद बिक्री खुला गरिरहेको छ। अन्य कम्पनीको भने हकप्रद निष्कासनको प्रक्रियामा रहेको छ। 

अघिल्लो वर्ष २०७८–७९मा सेबोनबाट ११ वटा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएका थिए। जसमा ४ वटा जलविद्युत कम्पनी, ३ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी र २ वटा निर्जीवन बीमा कम्पनी छन्। यी कम्पनीहरुले कुल ४ अर्ब ७८ करोड ७१ लाख ८८ हजार २९४.९२ रुपैयाँबराबरको हकप्रद निष्कासनको अनुमति पाएका थिए। 

हाल सेबोनको पाइपलाइनमा अझै ३ वटा जलविद्युत कम्पनी र एउटा विकास बैंकको हकप्रद सेयर निष्कासनको अनुमति पर्खाइमा छन्। हाल पाइपलाइनमा छ्याङ्दी हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, हिमालयन ऊर्जा विकास र नारायणी डेभलपमेन्ट बैंक छन्। यी सबैले १०० प्रतिशत हकप्रद ल्याउन अनुमति मागेका छन्।