काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कात्तिक ७ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभाले विशेष प्रस्तावका रुपमा राखिएको गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरिने भनिएको चुक्त पुँजीको १२ प्रतिशतले हुन आउने बोनस सेयर पारित गर्नेछ । संस्थाको चुक्त पुँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ ।

बोनस सेयर वितरणका लागि कर प्रयोजनार्थ स्रस्थाले वितरण गर्ने भनेको चुक्ता पुँजीको ०.६३ प्रतिशत नगद लाभांश पनि साधारणसभाले पारित गर्नेछ ।

साधारणसभामा अर्को महत्वपूर्ण अजेन्डाका रुपमा प्रस्तुत हुने अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई थाल्ने प्रस्ताव पनि पारित हुनेछ । संस्थाले अन्य वित्तीय संस्थाहरु आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, त्यसका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिनेजस्ता आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चाल समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि साधारणसभामार्फत पारित गर्नेछ ।

यसैगरी साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदन छलफल गरी पारित गरिनेछ ।