काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले राम्रो काम गर्नका लागि डराउनु नपर्ने बताएका छन्। 

आज ललितपुरको ग्वार्कोमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘धितोपत्र बोर्डको हालसम्मको इतिहासमा इन्साइडरमा काराबाही गरिएको कुनै पनि घटना थिएन’, उनले भने, ‘तर, म धितोपत्र बोर्डमा आएको ११ महिनामा २ वटा इन्साइडर ट्रेडिङको मुद्दामा कारबाही भएको छ।’

यसैगरी एउटा क्रेडिट रेटिङ कम्पनीमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ। ‘त्यसमाथि छिट्टै नतिजा आउला’, उनले भने। 
अध्यक्ष हमालले नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया पूरा भएको खण्डमा ३५ दिनभित्र वितरण गरिने बताए। ‘पुराना ब्रोकरले नयाँ शाखा खोल्न चाहेमा १५ दिनभित्र धितोपत्र बोर्डले स्वीकृति दिनेछ’, उनले भने। 

आफू आएपछि ११ वटा पीईभीसीलाई लाइसेन्स दिएको अध्यक्ष हमालले बताए। ‘यसले बिनाधितो स्टार्टअप कम्पनी सञ्चालन हुनेछ’, उनले भने।

बजार विस्तारका लागि कमोडिटी मार्केटमा पनि अगाडि बढेको हमालले बताए। ‘मेरै कार्यकालमा सी–आस्बा शुल्क १०० रुपैयाँ घटाएर ५ रुपैयाँ ल्याइएको छ’, उनले भने। 

हमालले साधारण सेयरमा विदेशमा रहेका नेपाली श्रमिकलाई आफ्नै पालामा १० प्रतिशत कोटा छुट्याइने व्यवस्था ल्याउन पनि आफू सफल भएको दाबी पनि गरे। ‘यसले गर्दा बैंकिङ च्यानलमार्फत पैसा स्वदेश भित्र्याउन सहयोग पुगेको छ’, उनले भने।