– अनन्त्य सुन्दर
काठमाण्डौ । प्रतिनिधिसभामा आज सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते हुने गरी स्थगित भएको छ।
एमसीसी विद्युत् प्रसारण लाइनसँग जोडिएको परियोजना भएकाले यसको असर जलविद्युत क्षेत्रमा कस्तो पर्ला ? भन्ने आमलगानीकर्तामा चासोको विषय बनेको छ।
ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपाने भने एमसीसी पास भएमा हाइड्रोको कम्पनीहरुको आम्दानी बढ्नुका साथै कम्पनीको सेयरमूल्य पनि बढ्ने बताउँछन्। पास नभएमा भने जलविद्युत क्षेत्रमात्र नभएर समग्र बैंकिङ प्रणाली र अर्थतन्त्र नै डामाडोल हुने उनीहरुको भनाइ छ।
ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानका अनुसार एमसीसी परियोजनाको कुल बजेटको अधिकांश हिस्सा विद्युत् प्रसारण लाइनसँग सम्बन्धित छ। ‘त्यसैले एमसीसी पास नभएको खण्डमा अहिले बनिरहेको ३२००–३०० मेगावाटका सबै हाइड्रो फेल हुन्छन्। अर्थात् यी हाइड्रोको लाइफलाइन नै एमसीसी हो’, उनले भने, ‘एमसीसी पास नभएमा उत्पादन भएको बिजुली बजारसम्म पुर्याउन सकिन्न। त्यसैले हाइड्रो व्यवसायी, प्रबन्धक, नेपाल विद्युत् प्राधिकरणमात्र नभएर समग्र बैंकिङ प्रणाली र अर्थतन्त्र नै टाँट पल्टिन्छ।’
‘अहिले बनिरहेको हाइड्रोहरुको फाइनान्सिङ नेपाली बैंकहरुले गरिरहेका कारण हाइड्रो डुब्नु भनेको बैंक पनि डुब्नु हो’, प्रधान भन्छन्, ‘एमसीसी पास नभएमा ४०० अर्बको लोन डिफल्ट हुन्छ। अर्थात् बैंकिङ प्रणाली नै कोल्याप्स हुन्छ।’
हामीले आफैँ प्रसारण लाइन बनाउन सक्दैनौँ त ? भन्ने बिजशालाकर्मीको जिज्ञासामा प्रधानले भने, ‘त्यो इम्पोसिबल कुरा हो। त्यसको जबाफ मेलम्चीले दिइसक्यो।’
एमसीसी पास भएमा विभिन्न स्टेसनमा उत्पादन भएको विद्युत् गोरखपुरसम्म पुर्याउने बाटो खुल्ने प्रधानको भनाइ छ। ‘पास नभएमा उत्पादन भएको विद्युत् गोरखपुर त परको कुरा हो, उत्पादन भएको बिजुली काठमाण्डौ, विराटनगर, पोखरामा भएको लोड सेन्टरसम्म पुर्याउन पनि असम्भव हुन्छ’, उनले भने।
‘सन् २०११ मा एमसीसीले हामीले आफैँले गर्छु भनेर मागेको प्रोजेक्ट हो। एमसीसी चुक्यो भने नेपाल पनि चुक्छ’, प्रधानले भने, ‘यो हाम्रो लाइफ र डेथको सवाल हो। हाम्रा नेताहरुले एमसीसी पास गर्न नसकेको खण्डमा समग्र अर्थतन्त्र र देश नै सकिन्छ।’
तीन दलले नै नाई–नाई भन्दाभन्दै टेबलमा गइसकेको अवस्था भएकोले ९९ प्रतिशत पास हुनेमा प्रधान विश्वस्त देखिन्छन्। ‘अहिले मूर्ख नेताहरुले जनतालाई उकासेर आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेका छन्। त्यसैले यो राजनीतिक समस्या नभएर राजनीतिक बेमानी र गद्दारी हो’, उनले भने।
आजको बजार र हाइड्रो इन्डेक्स हेर्दा धेरै लगानीकर्ताको एमसीसी पास हुन्छ भन्ने आँकलन भएको देखिन्छ। ‘एमसीसी पास भएको खण्डमा हाइड्रोको सेयरमूल्य बुस्ट हुन्छ’, प्रधानले भने।
अर्का ऊर्जा व्यवसायी गुरु न्यौपाने एमसीसी पास भएको खण्डमा कुनै पनि हाइड्रोको सेयरमूल्य हजार मुनि नहुने दाबी गर्छन्। ‘नेपालमा उत्पादन भएको बिजुली गोरखपुरको बाटोहुँदै भारतमा बेच्ने हो’, उनले भने, ‘एमसीसी परियोजनाअन्तर्गत बनाइने प्रसारण लाइनबाट हाम्रो जलविद्युत कम्पनीहरुबाट उत्पादन भएको बिजुली काठमाण्डौबाट नुवाकोटको राजमाटे, राजमाटेबाट हेटौँडा, अर्को दमौलीबाट बर्धघाटहुँदै भारतको गोरखपुरसम्म पुर्याउन सकिन्छ। त्यसैले यो लाइन चल्यो भने नेपालीलाई बढी भएको बिजुली भारतमा बेच्न सकिने र नेपाललाई बिजुली नपुगेमा भारतबाट सजिलै ल्याउन सकिन्छ।’
एमसीसी पास भएमा डलरमा विदेशी लगानी पनि धेरै आउने न्यौपाने बताउँछ। ‘हामीसँग एमसीसी पास गर्नुबाहेक अन्य विकल्प नै छैन। एमसीसी पास नभएको खण्डमा देश नै बर्बाद हुन्छ’, उनले भने।
अहिले नै एमसीसी पास नभएमा जेठ–असारमा उत्पादन हुने बिजुली खेर जाने न्यौपानेले बताए। ‘बिक्री नभएपछि मेसिन नै बन्द गरेर बस्नुपर्ने अवस्था पनि आउन सक्छ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago