 
                     
                                
                             
                                    काठमाण्डौ। आजभोलि युवाहरु माझ कृत्रिम बौद्धिकता (एआई) बारे तिब्ररुपमा बहस भइरहेको छ । यसले कतै भोलिका दिनमा जागिर खोस्ने त होइन भन्ने चिन्ता पनि सबैमा छ ।
हुन त यसकै कारण कतिले जागिर गुमाइसकेको अवस्था पनि छ । एआईको यो असर प्रविधि उद्योगमा देखिँदैन भन्ने अपेक्षा त गरिएको थियो । तर, यसले आफैंलाई सृजना गरेको उद्योगलाई पनि नछोडेको अवस्था छ । प्रविधि उद्योगमा एआईका कारण धमाधम कर्मचारी कटौती भइरहेको खवर आजभोलि सुन्न पाइन्छ ।
अझ भन्ने हो भने त फेसबुक, अमेजनमा रोज्ने किताब या युट्युबमा सुन्ने गीत, हेर्ने भिडियो र खेल्ने खेलसमेत सजिलै एआई टूलले पस्केर दिन्छन् । अझ अहिले एप्पलको सिरिज खोलेर राखेको छ भने त हामीले गरेको कुराकानीका आधारमा हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत यी कुराकानीका सन्दर्भ सामग्री पठाइसकेको हुन्छ ।
अझ भन्ने हो भने त भारतको उडिसास्थित ओडिसा टेलिभिजन (ओटीभी) ले कृत्रिम बौद्धिकतायुक्त भर्चुअल समाचारवाचक प्रयोगमा ल्याइसकेको छ। लिसा नामक ती एआई समाचारवाचिकाले टीभी र अनलाइनमा समाचार पढेकी छन् ।उनले तत्कालका लागि अंग्रेजी र ओडिया भाषामा समाचार पढ्ने ओटीभीले बताएको छ ।
एउटा कार्यक्रममा ओटीभीकी प्रबन्ध निर्देशक जगी मंगत पाण्डाले प्रविधिको युगमा यसलाई समयसँग तालमेल गर्ने प्रयास भएको बताएकी छन् । त्यसो त समाचार च्यानल आजतकले पनि सोही प्रविधि पछ्याउन खोजिरहेको छ ।
गत अप्रिलमै कुवेत समाचारले पनि एआई समाचार प्रस्तोता ल्याएको थियो। त्यतिबेला कुवेती सञ्चारमाध्यमहरुले फेधा नामक ती एंकरलाई नयाँ सहकर्मी भन्दै परिचित गराएका थिए।
साना प्रविधि कम्पनीहरूले कर्मचारी कटौतीको कारण एआईलाई देखाइरहेका छन् । प्रविधि कम्पनी माइक्रोेसफ्ट, अमेजन, गूगल, फेसबुक, युट्युबले यस्तै रणनीति अपनाएका छन् । उनीहरुले नयाँ कर्मचारी भर्नाबारे पनि पुनःविचार गर्न थालेका छन् । दुःखको कुरा के छ भने कर्मचारी कटौती गर्ने यस्ता कम्पनीहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
एआई रणनीतिको प्रयोग कस्तो हुन्छ भनेर हेर्न पनि कम्पनीहरूले कर्मचारीहरू धमाधम निकाल्न थालेका छन्। आगामी वर्षमा एआईलाई काम लगाउन सकिने खालका काममा नयाँ कर्मचारी भर्ना रोक्ने अमेरिकी कम्पनी आईबीएमका सीईओ अरबिन्द कृष्णाले हालै ब्लुमबर्गसँगको अन्तरवार्तामा भनेका छन् ।
हालै मात्र आउटप्लेसमेन्ट कम्पनी च्यालेन्जर, ग्रे एन्ड क्रिसमसले झन्डै ४ हजार कर्मचारी कटौती गरेको थियो । यसको कारण एआई नै थियो ।विगत केही महीनाभित्र एआईले विश्वमा धेरै व्यक्तिको जागिर खाइसकेको छ । तर, अहिले नै एआईले मानवीय कार्यबललाई पूरै विस्थापित भने गर्दैन ।
विस्तारै एआई टूल चलाउन जान्नेबाहेक अरुको काम खोसिने देखिन्छ । सन् २०२२ मा यस क्षेत्रबाट १ लाख ६४ हजार ७०९ ओटा रोजगारी कटौती भएको थियो । प्रविधि उद्योगमा एकातिर एआईका कारण जागिर गुमिरहेको छ भने अर्कोतिर खर्च कम गर्न पनि कम्पनीहरूबीच कर्मचारी कटौतीको होडबाजी चलेको छ ।
अमेरिकाको प्रसिद्ध प्रविधि कम्पनी आईबीएमको सर्वेक्षणअनुसार संसारभरि एआई अपनाउने क्रम बढेको छ । धेरै जसो बहुराष्ट्रिय कम्पनीहरुले एआईको माध्यमबाट व्यक्तिगत चाहनालाई नियन्त्रण गर्ने कार्यक्रम प्रचारप्रसार गरिरहेका छन् । जसरी माइक्रोेसफ्टले कम्प्युटरको विन्डोज र कम्प्युुटर कप्पनीले अन्य कार्यक्रम स्वचालित रूपले आवधिक गर्छ त्यसरी नै यसले पनि हामीले चाहेजस्ता सामग्री स्वचालित मेसिनकै सहायताले तयार पारेर राखिदिन्छ । यो आममानिसलाई नियन्त्रण गर्ने सबैभन्दा सरल विधि पनि हो ।
आईबीएमद्वारा सार्वजनिक प्रतिवेदनमा एआई प्रयोग गर्नेमा भारत र चीनका कम्पनी अग्रस्थानमा छन् । ती दुई देशका ६० प्रतिशत आईटी व्यवसाय कम्पनीले एआई प्रयोग गरिरहेको अध्ययनले देखाएको छ। त्यस्तै दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका र बेलायतमा पनि एआईको प्रयोग बढिरहेकोे छ । त्यहाँका प्रविधि कम्पनीहरुले एआईमा लगानी पनि बढाइरहेका छन् ।
पछिल्लो समय कम्पनीको खर्च घटाउन र कार्यविधिलाई स्वचालित प्रणालीमा लैजान एआईको प्रयोग बढिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । बौद्धिक श्रम बढी पर्ने काममा यसले सहयोग गर्न सक्ने अपेक्षा गरिएको छ । एजेन्सीहरुको सहयोगमा
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19