काठमाण्डौ । कोभिडबाट सिर्जित भएको असहज परिस्थितिका कारण एनआईसी एसिया बैंकका देशका विभिन्न स्थानमा रहेका ३६ वटा शाखा तथा विस्तारित काउन्टर आज मंगलबार बन्द रहने भएका छन्।

बैंकले एक सूचना जारी गर्दै बागमती प्रदेशका २८ वटासहित देशका विभिन्न स्थानमा ३८ वटा शाखा तथा विस्तारित काउन्टर मंगलबार बन्द रहने जानकारी गराएको हो। बैंकका अनुसार बागमती प्रदेशमा बूढानीलकण्ठ, माछापोखरी, कीर्तिपुर, न्युरोड (खिचापोखरी), ठूलोभर्याङ, बसेनी, महाराजगन्ज, पेप्सीकोला, सिनामंगल, सातदोबाटो, गोदाबरी किटिनी, काँडाघारी, नारायणगढ, दरबारमार्ग, गोठादार, कौशलटार र धुलिखेल शाखा बन्द रहनेछन्। 

यसैगरी बागमती प्रदेशकै गोलढुंगा, धोबीघाट, नेपाल ल क्याम्पस, इकाछु, लामाटार, लुभु, थैव, चन्द्रागिरि, एलआरआई स्कुल एसिया कलंकी, मूलपानी र डाँछी विस्तारित काउन्टहरु पनि बन्द रहने बैंकले जनाएको छ। 

प्रदेश १ मा भने बैंकले रोडशेष चोक (विराटनगर), बुधबारे शाखा तथा इटहरी उपमहानगरपालिका विस्तारित काउन्टर पनि बन्द गरेको छ।

मधेश प्रदेशमा महेन्द्रनगर (धनुषा) शाखा, गण्डकीमा पावरहाउस चोक शाखा, कर्णालीमा जुम्ला जोड शाखा तथा देवकोटा चोक शाखा र भैरहवा शाखा बन्द रहने बैंकले जनाएको छ। 

यी शाखा तथा विस्तारित काउन्टरबाहेक देशका विभिन्न स्थानमा रहेका अन्य शाखा तथा विस्तारित काउन्टर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुलै रहने बैंकले स्पष्ट पारेको छ। 

बैंकिङ आवश्यकताका लागि डिजिटिल माध्यमलाई पहिलो प्राथमिकतामा राख्न पनि बैंकले ग्राहकलाई आग्रह गरेको छ।