काठमाण्डौ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको एनआईसी एसिया बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक रहेका छन्। समीक्षा अवधिमा बैंकले कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रु. २७७.७ अर्ब पुर्याउन सफल भएको छ। यसका साथै निक्षेपतर्फ कुल निक्षेप संकलन रु. ३१६.५५ अर्ब पुर्याउन बैंक सफल भएको छ। 

तेस्रो त्रैमाससम्म बैंकले खुद मुनाफातर्फ रु. ४.०१ अर्ब आर्जन गर्न सफल भएकोे छ। जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो। यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) २०.१७ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) रु. ४६.७६ आर्जन गर्न बैंक सफल भएको छ। 

स्वपुँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २१ वटै बाणिज्य बैंकहरुमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्किय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

समीक्षा अवधिसम्म बैंकले ४.८ लाखभन्दा बढी नयाँ ग्राहक थप गर्दै ३७ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ। यो अवधिसम्म बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरुभन्दा बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।

लाखौं ग्राहकमाझ गतिशील बैंकिङ प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकहरुमध्येको बैंक हो। बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। 

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको कम्पनीहरुमध्येको हो। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। 

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।