काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को कार्यकारी समितिमा तीनजना सदस्य चयन भएका छन्। 

आज सम्पन्न एनबीएको ३६ औँ वार्षिक साधारणसभाले तीन सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो। सदस्यमा निर्वाचित हुनेमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार डे, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ छन्।

हाल एनबीएमा दीपक कुमार डे र सन्तोष कोइरालाको एक कार्यकाल सकिएको छ । उनीहरु पुनः अर्को एक कार्यकालका लागि दोहोरिएका हुन्। 

त्यस्तै मेगा बैंककी पूर्वसीईओ अनुपमा खुन्जेली बैंकबाट बाहिरिएपछि एनबीएमा सदस्य पद पनि खाली थियो । सोही रिक्त पदमा खालिङ निर्वाचित भएका हुन्। 

एनबीएमा सदस्यहरु दुई कार्यकाल रहन पाउने व्यवस्था छ । 

एनबीएमा एक वर्ष अध्यक्ष तथा उपाध्यक्ष र अर्को वर्ष सदस्यहरुको निर्वाचन हुन्छ । सोही प्रक्रियाअन्तर्गत यो वर्ष सदस्यहरु निर्वाचित भउका हुन्।