काठमाण्डौ । ओरिएन्टल होटल लिमीटेडले आफ्ना सेयरधनीलाई लाभांशको डबल अफर प्रस्ताव गरेको छ । 

असोज ८ गते अपरान्ह ४ बजे बसेको होटल संचालक समितिको बैठकले २०७४/७५ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो हिसाबले कम्पनीले १४ करोड १ लाख ३५ हजार ४ सय ५८ रुपैयाँ बराबरको बोनस सेयर र १० करोड ५७ लाख १६ हजार २ सय २३ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ९३ करोड ४२ लाख ३६ हजार ३ सय ८७ रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ७ करोड बढीको उचाईमा पुग्नेछ । 

यसैबीच, कम्पनीको सोही संचालक समितिको बैठकले आफ्नो २१ औं वार्षिक साधारणसभा आगामी कात्तिक १२ गते जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आह्वान गर्ने निर्णय समेत गरेको छ । 

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसको अर्थ यो कम्पनीको असोज १८ गतेसम्म सेयर किन्ने तथा आफ्नो नाममा नामसारी गर्नेहरुले घोषित लाभांश पाउनेछन् भने साधारणसभामा सहभागिता जनाउन समेत पाउनेछन् ।