काठमाण्डौ । बित्तीय अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निश्कासनमा धितोपत्र बोर्डले अंकुश लगाइदिएको छ । अब यस्ता जलविद्युत कम्पनीले साबिकको व्यवस्था अनुसार कतिपय महत्वपूर्ण बिषयमा सार्वजनिक जानकारी नदिई र केही शर्त पूरा नगरी आइपीओ तथा एफपीओ जारी गर्न पाउनेछैनन् ।
बोर्डले प्रति सेयर खूद सम्पत्ति प्रति सेयर अंकित मूल्य भन्दा कम भएका र सबैभन्दा न्यून रेटिंग प्राप्त गरेका र बित्तीय अवस्था सन्तोषजनक नरहेका कम्पनीहरुलाई कस्ने गरी केही व्यवस्था थप गरेको हो ।
बोर्डले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा अब यस्ता कम्पनीहरुले निम्न कुरामा विशेष ध्यान नदिए धितोपत्रको सार्वजनिक निश्कासन गर्न पाउने छैनन्:
१) सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरणपत्रको मुखपृष्ठमा स्पष्ट देखिने गरी देहाय बमोजिमको विवरणहरु बक्समा प्रस्तुत गर्ने ।
-सञ्चालन अवधि तीन वर्ष व्यतित भइसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यथित भइनसकेका अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति, प्रति शेयर आम्दानी ।
-जलविद्युत आयोजना भएमा प्रति मेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि ।
-क्रेडिट रेटिङ्गको ग्रेड ।
२) प्रक्षेपित वित्तीयविवरण प्रमाणित गर्दा निष्काशनकर्ता संस्थाको लेखापरीक्षकले प्रक्षेपित वित्तीय विवरण ठिक रहेको भनी स्पष्ट रुपमा प्रमाणित गर्ने ।
३) संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा बार्षिक प्रतिवेदनमा तालिकामा प्रस्तुत गर्नुपर्ने । साथै, प्रक्षेपित विवरणभन्दा वास्तविक विवरण फरक पर्न गएमा सोको कारण खुलाई आफ्नो बार्षिक प्रतिवेदनमा प्रक्षेपित अवधिसम्म प्रत्येक बर्ष प्रस्तुत गर्नुपर्ने ।
४) धितोपत्रको सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरणपत्र निष्काशनकर्ता कम्पनीको वेभसाइटमा कम्तीमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्य रुपमा राख्नुपर्ने, निष्काशन तथा बिक्रीप्रबन्धकको वेभसाइटमा धितोपत्रको बाँडफाँट नभएसम्म राख्नुपर्ने र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको अनलाइन आवेदन गर्ने स्थानमा विवरणपत्रको लिङ्क निष्काशन अवधिभरी राख्ने ।
५) सर्वसाधारण लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिंदा अनिवार्य रुपमा उक्त निष्काशनका लागि तयार गरेको विवरणपत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गराउने व्यवस्था गर्ने ।
६) क्रेडिट रेटिङ्ग कम्पनीले सार्वजनिक निष्काशन गर्ने धितोपत्रलाई न्यून ग्रेड प्रदान गरेमा र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीयविवरण बमोजिमप्रति शेयर खुद सम्पत्तिप्रति शेयर अङ्कित मूल्यभन्दा कम भएमा त्यस सम्बन्धी विवरण निष्काशनकर्ता कम्पनीले सार्वजनिक निष्काशनका लागि प्रकाशन गर्ने आह्वानपत्र लगायत अन्य सूचनाहरुमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्नुपर्ने ।
थप व्यवस्थाबाट सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाहरुको सम्बन्धमा लगानीकर्ताहरुलाई थप जानकारी प्राप्त भई लगानी सम्बन्धमा उचित निर्णय लिन मद्दत पुग्ने तथा संगठित संस्थाहरुलाई परियोजना सफल बनाउन अवसरको रुपमा रहने बोर्डको अपेक्षा रहेको छ । साथै बोर्डले भबिष्यमा सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन संगठित संस्थाको वस्तु स्थितीका आधारमा बजारबाट नै यर्थाथपरक मूल्यनिर्धारण गर्ने बुक बिल्डिङ्ग पद्धति लागू गर्न आवश्यक नीतिगत व्यवस्था गर्ने योजना समेत बनाएको छ ।