 
                     
                                
                             
                                    काठमाण्डौ । आन्तरिक विद्युत् खपत घटेपछि नेपालका विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५०० मेगावाट(मेवा) विद्युत् खेर गइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द भएकोले विद्युतको माग घटेको हो । 
प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक करिब २ हजार २०० मेवा विद्युत् उत्पादन भइरहेको छ । जसमा करिब १ हजार मेवा मुलुकभित्र र करिब  ६०० देखि ७००मेवा विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक ५०० मेवा हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।
बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।
‘दसैँका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३०० मेवा विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५०० मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।
उनले यसबाट यसबाट दैनिक करोडौं रुपैयाँ गुमाइरहेका बताए ।प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि भारतबाट स्वीकृति पाउनेमा विश्वस्त रहेको उनले बताए । तर स्वीकृति नपाएमा अझै विद्युत् खेर फाल्नुपर्ने उनको भनाइ छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेवा विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन) लाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्री अनुमति दिएको छ ।
दसैँमा विनाअवरोध विद्युत् आपूर्ति
प्राधिकरणले यस वर्षको दसैँमा विनाअवरोध विद्युत् आपूर्ति गरेको जनाएको छ । यस वर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्फुट्टबाहेक दसैँमा विगत वर्षमा झैं विनाअवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘दसैँमा विद्युत् प्रणाली स्मुथ (नियमित) रुपमा चल्यो, कहीँ कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएको जानकारीमा आएन’, घिसिङले भने ।
प्राधिकरणले दसैँमा विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीहरुलाई तयारी अवस्थामा राखेको थियो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19