काठमाण्डौ । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप ११.८९ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९र८० ले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार समिक्षा वर्षमा निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८९ प्रतिशतले वृद्धि भई रु.६७ अर्ब ४९ करोड ९१ लाख पुगेको छ । गत वर्षमा यस्तो निक्षेप ५.४३ प्रतिशतले वृद्धि भई रु.६० अर्ब ३२ करोड ७८ लाख पुगेको थियो । समीक्षा वर्षमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ्ग सेवामा आएको बिस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । 

त्यस्तै समीक्षा वर्षमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ५.४७ प्रतिशतले वृद्धि भई रु.५७ अर्ब ९३ करोड ६७ लाख पुगेको छ । गत वर्षमा यस्तो कर्जा ७.०१ प्रतिशतले बढेर रु.५४ अर्ब ९२ करोड ९४ लाख पुगेको थियो । 

त्यस्तै, आ.व. २०७९/८० को साउन देखि असार मसान्तमा यस प्रदेशको कर्जा तथा निक्षेप अनुपात ८५.८३ प्रतिशत रहेको छ । उक्त अनुपात गत वर्षमा ९१.०५ प्रतिशत रहेको थियो ।

आ. व. २०७९/८० को असार मसान्तको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा संकलित निक्षेप तथा प्रवाहित कर्जाको विश्लेषण गर्दा सुर्खेत जिल्ला सबैभन्दा अगाडि देखिन्छ । यस जिल्लामा समीक्षा वर्षमा रु.२७ अर्ब १५ करोड २५ लाख निक्षेप संकलन भएको छ भने, सोही अवधिमा रु.३६ अर्ब ५ करोड ९७ लाख कर्जा प्रवाहित भएको छ । त्यस्तै सबैभन्दा कम निक्षेप संकलन मुगु जिल्लामा रु.२ अर्ब ३५ करोड ७० लाख भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम रु.६४ करोड ८ लाख कर्जा प्रवाह भएको छ ।

आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुद्वारा संकलित कुल निक्षेपमध्ये सबैभन्दा धेरै बचत निक्षेपको अंश ५०.४४ प्रतिशत रहेको छ । त्यसैगरी चल्ती, मुद्दती र अन्य निक्षेपले क्रमशः १८.१४ प्रतिशत, २५.६९ प्रतिशत र ५.७४ प्रतिशत हिस्सा ओगटेका छन्। 

समीक्षा वर्षमा यस प्रदेशमा निक्षेपकर्ताको संख्या १५.४३ प्रतिशतले वृद्धि भई १९,४९,५६८ पुगेको छ । गत वर्षमा यो संख्या २८.७७ प्रतिशतले वृद्धि भई १६,८८,९६५ पुगेको थियो । २०८० असार मसान्तसम्म ऋणीहरुको संख्यामा २.४० प्रतिशतले ह्रास आई ५१,६४७ कायम भएको छ भने गत वर्ष यो संख्या २३.०७ प्रतिशतले वृद्धि भई ५२,९१९ पुगेको थियो ।