– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । चालु आर्थिक वर्षको म्राद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले मर्जर प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का तथा फुकुवा गर्ने कार्यको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई दिएको छ। 

राष्ट्र बैंकले अख्तियारी दिएसँगै सेबोन अध्यक्ष रमेशकुमार हमालले केही महिनाअघि अब मर्जर प्रयोजनका लागि सूचीकृत कम्पनीहरुको सेयर १५ दिनभन्दा बढी रोक्का नहुने व्यवस्था ल्याउने घोषणा गरेका थिए। सोहीबमोजिम सेबोनले ‘संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’को प्रारम्भिक मस्यौदा जारी गरेको थियो। 

यो निर्देशिकाको प्रारम्भिक मस्यौदा जारी भएको २ महिना बित्दा पनि अझै कार्यान्वयनमा आउन सकेको छैन। जसका कारण मर्जर प्रयोजनका लागि लामो समयसम्म सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताहरु मर्कामा पर्ने अवस्थाको अन्त्य अझै हुन सकेको छैन। 

अहिले मर्जर प्रयोजनका लागि नेप्सेमा सूचीकृत थुप्रै बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुको सेयर कारोबार रोक्का रहेको छ। यसले लगानीकर्ताको खर्बौंको सम्पत्ति बन्धक बनेको छ। 

कतिपय कम्पनीहरुको मर्ज प्रक्रिया वर्षौं चल्दा लगानीकर्ताले सामान्य खर्चका लागि आफूसँग भएको सेयर बेच्न नपाउँदा महँगो ब्याजदरमा ऋण लिनुपर्ने अवस्था छ।  

सेबोन अध्यक्ष हमालले उक्त निर्देशिका अब छिट्टै कार्यान्वयनमा आउने बताए। ‘अहिले निर्देशकलाई अन्तिम रुप दिन सेबोनको कानुन विभागमा काम भइरहेको छ’, बिजशालासँगको कुराकानीमा हमालले भने, ‘त्यहाँबाट फाइनल भएर आएपछि तिहारलगत्तै उक्त निर्देशिका कार्यान्वयनमा आउनेछ।’

निर्देशिका जारी भएपछि मर्जर प्रयोजनका लागि संगठित संस्थाको सेयर कारोबार बढीमा १५ दिनका लागि मात्र रोक्का हुने हमालले बताए। ‘निर्देशिका लागू भएपछिको मितिबाट मर्जरमा जाने कम्पनीहरुका लागिमात्र नयाँ व्यवस्था लागू हुनेछ’, उनले भने, ‘यो निर्देशिका लागू हुनुअघि मर्जरमा गएर सेयर कारोबार रोक्का भएका कम्पनीहरुको हकमा भने लागू हुने छैन।’