काठमाण्डौ । दोश्रो पटक स्पष्टीकरण सोधेको केही दिन नबित्दै सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । 

मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले नेपाल टेलिकमकै इतिहासमा पहिलो महिला प्रमुख राजभण्डारीलाई काम गर्न नसकेको आरोप लगाउँदै बर्खास्त गर्ने निर्णय गरेको हो।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले सन्तोषजनक काम गर्न नसकेको भन्दै कामिनीलाई ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले दिएको लिखित स्पष्टीकरण चिक्तबुझ्दो नभएपछि पदबाट हटाउने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । 

सरकारले यसअघि बैशाखमा समेत कामिनीलाई स्पष्टीकरण सोधेको थियो । सो क्रममा उनले आफूले राम्रो कार्यसम्पादन गर्ने भन्दै लिखित प्रतिबद्धता व्यक्त गरेकी थिइन् । सरकारले १२ बुँदे लिखित प्रतिबद्धतासहित उनलाई काम गर्ने अवसर दिने निर्णय गरेको थियो । तर, सरकारले दिएका १२ बुँदे कार्ययोजना कार्यान्वयनको सन्दर्भमा समेत कमजोर देखिएपछि पदमुक्त गर्ने निर्णय गरिएको बताइएको छ । 

सरकारले कामिनीमाथि काठमाडौं र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेको, प्रतिस्पर्धी कम्पनीलाई फाइदा हुने गरी काम गरेको लगायतका आरोपहरु लगाएको छ । 

गत असारमा आयकरको तेस्रो किस्तामा टेलिकमले १ अर्ब १३ करोड राजश्व बुझाएको थियो । उसको प्रतिस्पर्धी निजी सेवा प्रदायक एनसेलले २ अर्ब २० करोड बुझायो । अर्थ मन्त्रालयका अधिकारीहरुले टेलिकम र एनसेलबाट अन्तिम किस्तामा २ अर्बका दरले आयकर आउने अपेक्षा गरे पनि त्यो पूरा भएन ।

सरकारले २०७३ असोज ६ गते कामिनीलाई तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । उनी टेलिकमको नेतृत्व गर्न पुग्ने पहिलो महिला पनि हुन् । तर, उनले राम्रो इतिहास भने बनाउन सकिनन् । कामिनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । 

कामिनीले पद सम्हालेदेखि नै एक समूहले उनीविरुद्ध असहयोगको नीति अपनाउँदै आएको थियो । उनले आफूप्रति असन्तुष्टहरुलाई पनि साथमा लिएर काम गर्न खोजेकी थिइन्, तर त्यो रणनीतिले काम गरेन । 

उनीविरुद्ध लाग्ने टेलिकमभित्रकै एक समूहले उनले गर्ने प्रत्येक कामहरुमा प्रश्न उठाउँदै त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय लगायतमा उजुरी दिने गरेका थिए । काम गर्नै लाग्दा समेत उजुरी पर्ने क्रमले समयमा चाहेर पनि काम गर्न नसकिएको भन्दै पछिल्लो समय कामिनी स्वयम् समेत दिक्क भइसकेकी थिइन् । 'राजभण्डारीका लागि यो निर्णय अप्रत्यासित थिएन ।' उनी निकट एक कर्मचारीले भने-'कदम-कदममा असहयोग गरिएकोमा उहाँ पछिल्लो समय दिक्क भइसक्नु भएको थियो।'