काठमाण्डौ । साताको पहिलो दिन आइतबार कारोबार सुरु भएको २० मिनेटमै स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । 

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको स्वरोजगार लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५२ रुपैयाँ बढेर ५७२ रुपैयाँ पुगेको छ । कम्पनीको बिहीबार अन्तिम सेयरमूल्य ५२० रुपैयाँ रहेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा १२०.६८ प्रतिशतले छलाङ मारेको छ । 
चौथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले कम्पनीले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ४ करोड ४१ लाख रुपैयाँ बढी कमाउन सफल भएको छ । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको २८०० कित्ता सेयर खरिद पोस्ट भएको छ । बिक्रीतर्फ भने एउटा पनि पोस्ट भएको छैन । यसले कम्पनीको सेयर बिक्रीभन्दा खरिद गर्नेको चाप बढी देखाउँछ ।