– अनन्त्य सुन्दर

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयरधनीहरुलाई कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ रुपैयाँ नगद लाभांश छन्। 

प्राइम बैंकको लाभांश गत पुस ६ गते भएको १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भइसकेको छ। बैंकले घोषणा गरेको बोनस सेयर पनि केही दिनअघि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेको छ। यद्यपि अहिलेसम्म पनि अधिकांश लगानीकर्ताको खातामा बोनस सेयर नआएको अवस्था छ। 

बैंकले कर प्रयोजनका लागी ०.८४२ रुपैयाँ नगद लाभांश छुटाउने पर्नेमा ०.६३१६ रुपैयाँमात्रै छुट्याएको हो। अर्थात उक्त रकममा ०.२१२ रुपैयाँ कम भएको छ। त्यसैले अहिले अधिकांश सेयरधनीको खातामा सेयर आएको छैन। बैंकले सेयरधनीहरुलाई समयमै जानकारी नगराएकाले लगानीकर्ताहरु अलमलमा परेको अवस्था छ। 

बजारका अग्रज लगानिकर्ताहरुले सामाजिक सञ्जालहरुमा बैंकको गैरजिम्मेवारपनले लगानीकर्ता मर्कामा परेको भन्दै आएका छन। १० कित्ता सेयर हुनेले दुई रुपैयाँ तिर्न बैंक धाउनुपर्ने ? सेयरधनीलाई समयमै जानकारी नगर्दा सेयरधनीहरु मर्कामा परेकोजस्तो उनीहरुको तर्क छ। 

बैंकको चिफ इन्भेस्टमेन्ट अफिसर स्वेच्छा कार्कीले बैंकबाट कुनै त्रुटि नभएको दाबी गरिन्। ‘टेक्निकल कारणले गर्दा हामीले पुरानो एक वर्षको तिर्न पाएका थिएनौँ। अहिले त्यही पैसा लिनका लागि नै त्यति रकम वितरण गरिएको हो’, उनले भने।

‘सेयरधनीहरुले २०७४÷७५ मा मर्जरले लाभांशको कर छुट भएको थियो। एजीएम समयमा नभएकाले सेयरधनीहरुले उक्त छुट पाएका थिएनन्। त्यसबेलाको सेयर धनीहरुले उक्त छुट पाउँछन्’, कार्की भन्छिन्, ‘नयाँ सेयरधनीले भने ०.२१२ रुपैयाँ तिरेपछि मात्र बोनस सेयर खातामा आउँछ।’

शुल्क तिर्ने सेयरधनीहरुको खातामा बोनस सेयर आएको छ। पैसा नतिरेका सेयरधनीहरुलाई पत्रिकाका साथै वेबसाइटबाट बाँकी रकम सेयरधनी आफैँले तिर्ने भनेर १–२ दिनमै सूचना प्रकाशित गरिने उनले जानकारी दिइन्।