काठमाण्डौ । ङादी ग्रुप पावर लिमीटेडको सेयरमूल्य पछिल्लो समय अचाक्ली बढिरहेको छ । धेरै दिनदेखि यो कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागिरहेको छ । यो कम्पनीको सेयरमा यति धेरै आकर्षण किन भयो ? किन दैनिकजसो सर्किट लेभलमा यो कम्पनीको सेयर दोश्रो बजारमा कारोबार भइरहेको छ ?

पछिल्लो एक महिनाको अन्तरालमा यो कम्पनीको मूल्य तुलना गर्ने हो भने अचाक्ली बढिसकेको छ । एक महिनाअघि प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयरमूल्य सोमबार समेत सर्किट लागेर १ हजार १७२ रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक महिनाको अवधिमै यो कम्पनीको सेयरमूल्य १४६ प्रतिशतले बढेको देखिन्छ । अझ सरल भाषामा भन्नुपर्दा एक महिनाअघि यो कम्पनीको सेयरमा १० लाख रुपैयाँ लगानी गर्नेको पोर्टफोलियो बढेर २४ लाख माथि पुगिसकेको छ । 

बजारमा यो कम्पनीले निकै राम्रो लाभांश र हकप्रद घोषणा गर्ने हल्ला चलेको छ । एक महिनाअघि भने कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्न लागेको हल्ला चलेको थियो । यो हल्लाले ४७७ बाट ९०० रुपैयाँ हाराहारीमा पुगेको मूल्यलाई थप उचाईमा पुर्याउने काम आकर्षक बोनस आउने हल्लाले गरेको देखिएको छ । 

पछिल्लो समय बजारमा यो कम्पनीले २५ प्रतिशत बोनस सेयर पनि दिने हल्ला चलेको छ । एकसाथ २५ प्रतिशत बोनस सेयर र १ः१ को अनुपातमा हकप्रद आउने हल्ला चलेपछि कम्पनीको सेयरमूल्य रकेटको गतिमा दौडिरहेको छ । 

हल्लामा कति सत्यता छ ?
कम्पनी निकट स्रोतका अनुसार हकप्रद निश्कासन गर्ने योजना बनाए पनि नियामकबाट स्वीकृत भइसकेको अवस्था छैन । नियामकमा हकप्रदको प्रस्ताव गएको विषय मार्केटमा ल्याएर केही खेलाडीले यो कम्पनीको सेयर कारोबारबाट कुस्त कमाएका छन् । 

‘हामीले १ः१ को अनुपातमा हकप्रद प्रस्ताव गरेका हौं, अप्रूभल आएको छैन ।’ कम्पनीका एक संचालकले भने–‘बोनस सेयर २५ प्रतिशत नै आउँछ भन्ने कुरा अहिल्यै भन्न सकिन्न । यो विषयमा निर्णय भइहालेको अवस्था पनि होइन ।’