काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ६९ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २३.७४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ। बैंकको चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि १८.२५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ५ अर्ब ३ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा घटेर ४ अर्ब ११ करोड रुपैयाँमा सीमित बनेको छ। 

चौथो त्रैमाससम्म बैंकले ७ अर्ब ७७ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी १३.३ प्रतिशतले बढेको छ। 

बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

बैंकको रिजर्भको आकार १.८ प्रतिशतले घटेर ११ अर्ब २२ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ११ अर्ब ४२ करोड रुपैयाँ थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) घटेर १.६८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल १.८८ प्रतिशत थियो। सीडी रेसियो ८९.१७ प्रतिशत रहेको बैंकको आधार दर ८.९० प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २४.२८ रुपैयाँबाट घटेर १७.९३ रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १८.४६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २१२.२५ रुपैयाँ रहेको छ।