काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित दुई दिने सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले ढुक्क भएर लगानी गर्न आह्वान गरेका हुन् ।


उनले नेपालमा लगानीका अवसर बढ्दै गएको पनि बताए । उनले, ‘लगानी सहज बनाउने कानूनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तरराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु ।’ उनले नेपालमा विद्युतमा धेरै सम्भावना र अवसर रहेको भन्दै त्यसतर्फ लगानी बढाउन पनि आह्वान गरे ।

उनले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् भन्दै यसले नै बृद्धि, नवीनता र रोजगारी सिर्जना गर्ने बताए ।  उनले भने, ‘उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र समुदायले ठूला चुनौती समाधान गर्ने सबैभन्दा  बलियो आधार पनि हुन् ।’
राष्ट्रपति पौडेलले भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरूलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरूलाई अपिल पनि गरेका छन् ।