काठमाण्डौ । सेयर बजारमा उछाल आएसँगै ठूलो मात्रामा लगानी भित्रिने क्रम सुरु भएको तथ्याङ्कहरुले देखाएको छ । योसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि केही दिनकै अन्तरालमा निकै ठूलो साइजमा बढेको छ । 

डिसेम्बर ७ मा नेप्सेको कुल बजार पूँजीकरण २८ खर्ब ६२ अर्ब भन्दा बढी थियो । त्यसपछि नेप्सेमा उछाल आएको थियो । नेप्सेमा उछाल आएको दिन कुल बजार पूँजीकरण बढेर ३० खर्ब २८ अर्ब पुग्यो । 

त्यसको भोलिपल्ट नेप्सेमा सामान्य करेक्सन आउँदा बजार पूँजीकरणमा झिनो गिरावट देखियो । 

त्यसपछि लगातार २ दिन बजार बढेको छ । यसरी बजार बढ्दा नेप्सेको बुधबारसम्मको कुल बजार पूँजीकरण ३० खर्ब ६५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। 

यसरी हेर्दा केही दिनको अन्तरालमै नेप्सेको बजार पूँजीकरण २ खर्ब ३ अर्बभन्दा बढीले वृद्धि भएको देखिन्छ । 

बजारमा पछिल्लो समय सूचक र भोल्युम(कारोबार रकम) दुवैले साथ दिइरहेको देखिन्छ । बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गयो वा एउटा लेभलमा मेन्टेन भयो भने त्यसले बजारमा दिगो शैलीको बढोत्तरीको यात्रा सुरु हुन्छ भन्ने संकेत प्राप्त हुने विश्लेषकहरु बताउँछन् । 

अहिलेको देशको सेयर बजारलाई पनि त्यही रुपमा हेरिएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दो छ । यसले लामो समयसम्म मौका हेरेर बसेका ठूला लगानीकर्ता पनि बजार प्रवेश गरेकाको रुपमा बुझ्नुपर्छ । ठूला लगानीकर्ताहरुले खरीद चापलाई अझ बढाउँदै लगे भने नेप्सेमा सुरु भएको बढोत्तरीको यात्रा निकै लामोसमयसम्म रहनसक्छ । 

बजार बढेपछि करेक्सन हुनु स्वभाविक हो । जस्तो, नेप्सेमा सर्किट लागेको दिन १११.२० अंकले परिसूचक बढेको थियो । त्यसको भोलिपल्ट १५.४० अंकले बजारमा करेक्सन देखियो । त्यसपछि पुनः ३६.८६ अंकले बढेको बजारमा हिजो भने इन्ट्रा डे करेक्सनसँगै २.६० अंकको बढोत्तरीसहित बन्द भएको थियो। 

आज यो साताको अन्तिम कारोबार दिन पनि हो । धेरै ब्रोकर तथा लगानीकर्ताहरुले बजारको अन्तिम कारोबार दिन सेयर खरीदमा ध्यान दिने गर्छन् । आज सेयर खरीद गरेपछि अर्को साताको कारोबार खुल्नुअघि नै खातामा आउने र बढ्दो मार्केटमा छोटो अवधिमै प्रफिट बुक गर्न सकिने दाउ हेर्नेहरुको जमात निकै ठूलो भएकाले आजको बजार राम्रै अंकले बढ्नसक्छ ।