– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल (सोना)को सेयरभाउमा आज तेस्रो दिन मंगलबार पनि नकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा कारोबारमा आएदेखि नै यो कम्पनीको सेयरभाउमा नकारात्मक सर्किट लाग्दै आएको हो। 

आजको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता २५५.२ रुपैयाँ कायम भएको छ। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले आईपीओ बिक्री गरेको थियो। 

कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो। जसमा स्थानीयलाई जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी १४ लाख ३ हजार ५ कित्ता सेयर थप गरिएको थियो।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो। यो कम्पनीको सेयर स्थानीय र अगुवा लगानीकर्ताले बहिष्कार पनि गरेका थिए। 

दोस्रो बजारमा ३५० रुपैयाँमा खुलेको यो कम्पनीको सेयरभाउ अहिले सर्वसाधारणले प्रिमियम मूल्यमा आईपीओ गरेको लगानीकै हाराहारीमा आएको छ। 

बजार जानकार नवराज घिमिरेले आफूले पहिले नै यो कम्पनीको सेयरभाउ १०० रुपैयाँसम्म आउन सक्ने बताएको दाबी गरे। ‘भोलिको कारोबारबाट घट्न रोकिएला तर यो कम्पनीको सेयरभाउ कालान्तरमा १०० रुपैयाँभन्दा तल नै आउने हो’, घिमिरेले भने, ‘किनकि कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ५० पैसामात्रै छ। यो भनेको पैसा लिएर एउटा समूह निष्किने नै खेल हो।’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल लगानीकर्ताप्रति गैरजिम्मेवारी बन्दै गएको घिमिरेको भनाइ छ। ‘उनी पुनः अध्यक्षमा दोहोरिन पैसा उठाउँदैछन्। उनी दोहोरिए सेयर बजारमात्रै होइन देश नै डुब्न सक्छ’, उनले भने, ‘जथाभावी प्रिमियममा आईपीओ ल्याउन दिनु हमालको सेयर बजार ध्वस्त बनाउने खेल नै हो।’

सोनापुरले ४ अर्ब रुपैयाँ बिजुलीको बक्यौता नै तिर्न बाँकी रहेको घिमिरेको दाबी छ। ‘हमालले वाईवाई र मनकामना केबलकारजस्ता राम्रा कम्पनीको सेयर ल्याउन सकेका छैनन्। तर, झुर कम्पनीको आईपीओ आर्थिक लाभ लिएर ल्याउन दिइरहेका छन्’, उनले भने। 

लगानीकर्ता उमेश श्रेष्ठले पनि सोनापुरजस्ता कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउन दिएर हमालले भ्रष्टाचार गरेको आरोप लगाए। 

कारोबार खुलेदेखि लगातार ३ दिन नकारात्मक सर्किट लागेको यो कम्पनीको सेयर साउथ एसियन बुल (ब्रोकर नं. ४३)ले खरिद गरेको छ भने अग्रवाल सेक्युरिटिज (स्टक ब्रोकर नं. ६) बाट धमाधम बिक्री भएको छ। आज यो कम्पनीको ६४ लाख ११ हजार ४४३ रुपैयाँबराबरको सेयर कारोबार भएको छ।