काठमाण्डौ । कोभिड महामारीबीच पनि कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गर्न सफल भएको हो।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्म तुलनामा ७२.७३ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको पनि समीक्षा अवधिमा बढेर २ अर्ब ११ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा पनि ६९.१६ प्रतिशतले बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड रुपैयाँ बढी रहेको छ। 

समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २३ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४६.५६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।

यस अवधिसम्म बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ३६.०४ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म रिजर्भमा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको बैंकको खराब कर्जा दर २२.३० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १.३९ प्रतिशत रहेको खराब कर्जाको दर समीक्षा अवधिमा घटेर १.०८ प्रतिशतमा झरेको छ। बैंकको आधार दर ७.९ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.४२ रुपैयाँ रहेको छ। पीई रेसियो २५.७३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३६.८९ रुपैयाँ रहेको छ।