काठमाण्डौ । पुँजीबजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा पुँजीबजारमा भएका नयाँ विकास र उपलब्धिहरुको जानकारी गराउने उद्देश्यले नेप्से तथा सीडीएससीको संयुक्त आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १५ गतेसम्म गण्डकी प्रदेशका विभिन्न सहरमा लगानीकर्ता सचेतना कार्यक्रम हुने भएको छ ।

गण्डकी प्रदेशमा रहेका लगानीकर्ताहरुलाई पुँजीबजारसम्बन्धी जानकारी दिइने ध्येयले यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेप्सेको अनलाइन कारोबार प्रणाली तथा सीडीएससीले सञ्चालनमा ल्याएका सेवाहरु (मेरो सेयर, सी–आस्वा, ईडीआईएस, भारित औसत गणना विधि) सम्बन्धी जानकारीमूलक प्रस्तुति रहनेछन् ।

लगानीकर्ता सचेतना कार्यक्रम पुस १३ गते गण्डकी प्रदेशको राजधानी पोखरास्थित उद्योग वाणिज्य संघ पोखरामा बिहान १० बजेदेखि सुरु हुनेछ । 
त्यस्तै पुस १४ गते बागलुङको होटल पिस प्यालेजमा हुनेछ भने पुस १५ गते तनहुँको दमौलीमा हुनेछ ।

लगानीकर्ता सचेतना कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने तथा सीईओ चन्द्रसिंह साउद, सेबोनका कार्यकारी निर्देशक निरज गिरी र नेप्सेका कामु प्रबन्धक निरञ्जन फुयाँल स्रोतव्यक्ति रहेका छन् ।

यसैगरी ती कार्यक्रममा सीडीएससीले सञ्चालमा ल्याएका सेवाहरुका बारे सीडीएससीका सहायक प्रबन्धक सुरेश न्यौपानेको विशेष प्रस्तुति हुनेछ ।