काठमाण्डौ। सरकारले गाँजा खेतीको सम्भाब्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए।

आर्थिक वर्ष २०८०–८१ को बजेट बक्तव्यको १०५ नम्बर बुँदामा भनिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिनेछ ।’यो कार्यदललाई दुई वटा विषय म्यान्डेट दिइएको छ ।

गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्नेछ । गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ । 

मन्त्री डा। महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानून, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो । 

कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउने छ ।